२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वका नेकपाका स्थायी कमिटी सदस्य देव गुरुङले केपी शर्मा ओलीको "तानाशाहीतन्त्र" पतन नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै गुरुङले ओलीको "तानाशाहीतन्त्र"लाई पराजित नगर्दासम्म आन्दोलन जारी रहने बताएका हुन् । संविधान र लोकतन्त्रको रक्षा गर्न जनता विरोधमा आउनुपर्ने उनको भनाइ थियो ।
"ओलीको तानाशाहीतन्त्र विरुद्ध, गणतन्त्र, लोकतन्त्रको रक्षाका निम्ति नेपाली जनता फेरि एकजुट हुनुपर्ने आवश्यकता छ । जबसम्म केपी ओलीको "तानाशाहीतन्त्र"को पतन हुँदैन, त्यसलाई पराजित गर्न सकिँदैन तबसम्म आन्दोलन जारी रहन्छ," गुरुङले भने ।
नेपालको संविधानले पाँच वर्षमा हुने आवधिक निर्वाचनलाई मात्र मान्ने गुरुङको दाबी छ । "ताजा जनादेशको नाममा वैशाखमा चुनाव गर्ने भनिएको छ । नेपालको संविधानले पाँच वर्षको आवधिक निर्वाचन मान्छ । ओलीले वैशाखमा चुनाव गर्ने भनेको तानाशाही तन्त्र, फाँसिवादी तन्त्र कायम राख्नु हो । त्यो प्रधानमन्त्रीको रबर स्टाम्पमा बनाइने संसद् हो," गुरुङले भने ।
नेकपा नेता रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मालाई ुनबोल्ने पशुपतिनाथको नभई बोल्ने पशुपतिनाथ (जनता)लाई खुशी पार्न अपिल गरेका छन्। नेकपा प्रचण्ड-माधव समूहको सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
केही दिनअघि प्रधानमन्त्री ओली पशुपति पुगेको विषयलाई जोडेर उनले जनतारूपी पशुपति खुशी पार्न आग्रह गरेका हुन्। उनले राजाहरुको प्रसंग जोड्दै पशुपतिको सेवामा पुग्नेहरूको "अधोगति भएको" संकेत गरे।
"पशुपतिले कृपा गर्ने भए वीरेन्द्रको वंशनाश हुँदैनथ्यो। यता ज्ञानेन्द्रले राजगद्दी छाडनुपर्दैनथ्यो। त्यसैले ओलीजी सुन्नुहोस्, त्यहाँ नबोल्ने पशुपति होइन यहाँ बोल्ने पशुपतिनाथलाई खुशी बनाउनुहोस्। जो यहाँ उपस्थित छन्," उनले थपे, "विघटनपछि पशुपतिमा गएर केपीजीले के वरदान माग्नुभयो थाहा छैन। त्यहाँ पुगेर एक अर्बको जलहरीका लागि ३० करोड निकासा गर्छु भन्नुभयो। त्यही बेला मलाई राजा वीरेन्द्रको सम्झना भयो। आफ्नो हरेक सम्बोधनको अन्त्यमा पशुपतिनाथले रक्षा गरुन् भन्थे। उनको वंश नाश भयो।'
नेकपाको दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई च्युत गर्ने प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध बोल्न पाउनुपर्ने बताएकी छन् ।
बुधबार काठमाडौंमा आयोजित दाहाल–नेपालसमूहको विरोध सभामा बोल्दै नेतृ झाँक्रीले निर्वाचनको प्रक्रियाबाट गएका पात्र निरंकुशताको साक्षी बसे त्यसविरुद्ध बोल्ने बताएकी हुन् ।
'खड्गप्रसाद ओली आज दरबारमा जस्तै रजाइँ गर्नेहरु संघर्षका दिनमा कहाँ थिए ? दुनियालाई थाहा छ । हजारौं शहिद, घाइतेहरुको योगदानबाट प्राप्त भएको उपलब्धिका एकै रातमा एउटा जंगी बादशाहले च्यातचुत गर्ने बादशाहको विरुद्ध बोल्छौं,’ उनले भनिन्, "मन्त्रिपरिषद्का निर्णयलाई खुसुक्क सहीछाप गर्ने राष्ट्रपति, सम्माननीय संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो । हाम्रो शिर्ष माथिको संस्था हो । त्यो संस्थामा निर्वाचनको प्रक्रियाबाट गएकोले निरंकुशताको साक्षी बस्छ भने त्यस्ता पात्रको विरुद्ध बोल्नु पर्छ । कस्ले भन्छ बोल्न पाइदैन भनेर ?’
नेतृ झाँक्रीले प्रधानमन्त्री ओली कागजको बादशाह भएको र उनी ढलिसकेको अन्तिम घोषणा गर्न मात्र बाँकी रहेको दाबी गरिन् । 'आजको मानवसागरले भन्छ खड्गप्रसाद ओली कागजको बादशाह हुन् । ती ढलिसक । अब अन्तिम घोषणा गर्न बाँकी छ । जब बादशाह वा तानाशाहले आफ्नो कदलाई घटाउँदै राज्य सत्ताको दुरुपयोग गरेर कागजका अग्ला अग्ला प्रतिमा बनाउँछन् । ओलीले त्यहि गरेका छन् । यो अधोगति हो,’ उनले भनिन् ।
एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा त्यहाँ महिलाको अस्मिता नमिचिने नेतृ झाँक्रीको भनाइ छ । "कस्ले भन्छ यहाँ महिला अस्मिता मिचियो भनेर ? महिला अस्मिता त्यहाँ बलात्कृत भएको छ जहाँ भागरथी भट्ट, निर्मला पन्त जस्तै कलिला किशोरी बलात्कृत भएका छन् त्यहाँ महिला अस्मिता मिचिएको छ," उनले भनिन्, "कुनै पदमा लिंग हुँदैन । त्यहाँ बोल्न पाईन्छ । त्यो सार्वजनिक पद हो ।"
सर्वोच्च अदालतले संविाधान र कानुन अनुसार फैसला गर्ने विश्वास आफूहरुलाई रहेको झाँक्रीले बताइन् । अहिलेको लडाइ पात्रकोविरुद्ध नभएर प्रवृत्तिको विरुद्ध भएको उनको भनाइ छ । "खडगप्रसाद ओली व्यक्ति हैनन् प्रवृत्ति हो । यो लडाइँ जितिसकेका छौं । अब कहिल्यै खड्गप्रसाद ओली प्रवृत्ति नदोहोरियोस् । त्यसको घोषणा गर्ने हो । यो पात्रको विरोध हैन, प्रवृत्तिको विरोध हो," उनले भनिन् ।
कार्यक्रममा केन्द्रीय सदस्य अमृता थापा मगरले भागीरथी भट्ट र निर्मला पन्तको हत्यारा पत्ता नलागेसम्म देशका सबै वडाबाट महिलाहरु हातमा औजार लिएर विरोधमा उत्रन आग्रह गरिन् । "जबसम्म भागीरथी भट्ट र निर्मला पन्तको हत्याराको पहिचान र कारबाही गर्न नसक्नेहरुविरुद्ध र यो प्रतिगमन नसच्चिएसम्म आफूलाई सेल्फ डिफेन्सको तालिम लिँदै हातमा खुकुरी, चुलेसी, डाडु पन्यु लिएर उठ्न आग्रह गर्छु," उनले भनिन् ।
अहिलेको संविधान महिलाको पक्षमा भएको भन्दै थापाले ओलीको प्रतिगमन नसच्चिदासम्म विरोध गर्ने बताइन् ।
"खड्गप्रसाद ओलीले पश्चातापको आशु छार्दै यदि प्रतिगन भएछ भन्ने लागेको छ भने बालकोट गएर बस्न आग्रह गर्दछु । होइन भने संस्थागत राजतन्त्र बादशाहलाई घोडाबाट फाल्दै श्रीपेचबाट फालेको इतिहास छ," उनले भनिन् ।
यसैगरी, आफ्ना हरेक सम्बोधनमा पशुपतिले कल्याण गरुन् भन्ने ज्ञानेन्द्र शाहको पनि शक्ति र सत्ता खोसिएको बताउँदै भने, "उनको पनि पशुपतिनाथले राम्रै कल्याण गरे। नारायणहिटीबाट निस्किनुपर्यो। अब ओलीजीलाई के कृपा गर्ने हो ?"
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij