२०८२ माघ १५ गते बिहिवार
नेकपा (माओवादी केन्द्र) भित्र राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमतिलाई जोड दिनेबारे छलफल भएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकमा कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा जोड दिनुपर्ने छलफल भएको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले मिश्रित संसद रहेकाले संसदको पाँच वर्षे कार्यकाल सुनिश्चित गर्न र संविधानको संरक्षण र राजनीतिक दलहरूबीच सहमतिमा सहजताका लागि माओवादीले राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिलाई नै जोड दिने बताए।
‘संविधानको संरक्षक तथा साझा अभिभावक राष्ट्रिय सहमतिबाटै चयन गर्दा सहज हुन्छ भन्ने माओवादी केन्द्रमा छलफल भएको छ,’ पौडेलले भने।
प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले समेत विश्वासको मत दिएपछि नयाँ परिस्थिति सिर्जना भएकाले राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिलाई जोड दिइएको पौडेलले बताए।
‘कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दियो। राजनीतिमा नयाँ परिस्थिति निर्माण भएर राष्ट्रपतिमा राष्ट्रिय सहमति गरौं भन्ने हाम्रो मत हो। यसको मतलब एमालेलाई बाहिर राखेर सहमति गरौं भन्न खोजिएको होइन,’ पौडेलेले भने।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij