२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका प्रभावशाली मन्त्रीहरूसँगको छलफलमा निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा आफ्ना आधा दर्जन सरोकार राखेको छ । आयोगले औपचारिक विषयबाहेक अरुमा चासो नराख्ने भन्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन सकिने समेत जनाएको छ ।
आयोगले वैशाख १७ र २७ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ६३ लाख ४५ हजार मतदाताको नाम संकलन भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुस ६ देखि नै शुरू भएको मतदाता नामावली संकलन सकिएको बताएका हुन् ।
पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका नागरिक मतदाता सूचीमा समेटिएका छन् । फागुन २१ गते अन्तिम मतादाता नामावली सार्वजनिक गरिने जानकारीसमेत आयोगले सरकारलाई गराएको छ । अहिले मतदान केन्द्र निर्धारणको गृहकार्य भइरहेको र निर्वाचन प्रयोगजनका लागि दल दर्ता तथा आचारसंहिताको मस्यौदा तयार भइरहेको थपलियाले बताए ।
आयोगका तर्फबाट प्रमुख आयुक्तले प्रधानमन्त्री समक्ष मुख्यगरी ६ वटा सरोकार राखिएको स्रोतले जनाएको छ । प्रमुख आयुक्त थपलियाले बुँदागतरूपमा प्रधानमन्त्रीसँग आयोगको धारणा राखेका थिए ।
आयोगको सरोकार यसप्रकार छन् ।
१) कानून - निर्वाचन सम्पन्न गराउन कानुनी समस्या नरहेको भन्दै आयोगले कार्यविधि,निर्देशिका,आचारसंहिताजस्ता आन्तरिक कामहरू गरिरहेको थपलियाले बताएका छन् ।
२) बजेट - कोभिड महामारीका कारण यो चुनावमा अतिरिक्त खर्च लाग्न सक्ने भन्दै आयोगले करिब ७ अर्ब रूपैयाँ माग गरेको जानकारी थपलियाले गराएका थिए ।
३) सुरक्षा - आयोगले निर्वाचनको लागि सुरक्षाा योजना बनिरहेको भन्दै स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न पूर्णसुनिश्चितता गर्ने थपलियाले बताए ।
४) प्राविधिक कार्य - आयोगको तर्फबाट गर्नुपर्ने प्राविधिक कार्यमा कुनै कमी नहुने थपलियाले बताए ।
५) अन्तर्राष्ट्रिय मान्यता - प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक बोलाउने तयारी भइरहेको बताए । त्यसका लागि आवश्यक कार्य अघि बढाउने थपलियाको भनाइ थियो ।
६) राजनीतिक वातावरण - आगामी प्रतिनिधिसभा निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने थपलियाले बताए । उनले नेकपा विवादको सन्दर्भमा माघ ११ गते आयोगले एउटा निर्णय गरिसकेको भन्दै एउटा पक्षले माघ २० गते राजनीतिक दल सम्बन्धी दफा ४३ र ४४ बमोजिम निवेदन दिएको जानकारी गराएका थिए ।
थपलियाले निर्वाचन आयोग औपचारिक जानकारी बाहेकका विषयमा नअल्मलिने भन्दै वैशाख १७ गते शुक्रवार र २७ गते सोमवारका लागि तोकिएको निर्वाचन सम्पन्न गर्न दृढ रहेको जानकारी दिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij