२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइका लागि मंगलबार संवैधानिक इजलास नबस्ने भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेयको सोमबार निधन भएकाले मंगलबारको संवैधानिक इजलास नबस्ने भएको हो ।
मंगलबार अदालतका प्रशासनिक कामकारबाही सञ्चालन हुने सर्वोच्च अदालतले जनाएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ मुद्दा परेका छन् ।
ती मुद्दामाथि ५ सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । माघ ४ गतेदेखि जारी निरन्तर सुनुवाइमा निवेदकका कानुन व्यवसायीले बहस सकेपछि केही दिनयता विपक्षीका वकिलले बहस गरिरहेका छन् । सोमबार पनि प्रधानमन्त्री ओलीका निजी वकिलहरूले बहस गरिरहेका छन् ।
प्रधानमन्त्रीका निजी वकिलको बहस सकिएपछि सभामुखका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । त्यसपछि विज्ञहरूको समूह 'एमीकस क्युरी'ले आफ्ना धारणा राख्नेछ ।
आज बहस गर्दै अधिवक्ता मुकुन्द अधिकारीले प्रतिनिधिसभा विघटन ६ महिनाअगाडि नै विघटन हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटनको पक्षमा प्रधानमन्त्रीका तर्फबाट बहस गर्दै उनले भने, "यो संसद् ६ महिनाअगाडि नै विघटन हुनुपर्थ्यो ।"
उनले संसद्ले काम गर्न नसकेको भन्दै विघटन गर्न ढिला भएको बताए । त्यस्तै उनले संविधानमा प्रतिनिधिसभा पाँच वर्षसम्म विघटन हुन सक्दैन भनेर नलेखेको भन्दै विघटन संविधानअनुसारै भएको पनि दाबी गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij