२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि चलिरहेको बहस माघ ३० गतेसम्ममा सकाउन आग्रह गरेका छन् ।
आइतवार सरकारी वकिलको बहस सकिएपछि प्रधानन्यायाधीश राणाले माघ ३० गतेसम्म बहस सकाउन आग्रह गरेका हुन् । सरकारी वकिलपछि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विपक्षीहरूले राखेका निजी वकिलहरूको बहस शुरू भएको छ ।
ओलीका तर्फबाट रमेश बडालले बहस गरेपछि प्रधानन्यायाधीश जबराले यही महिनामा बहस सक्नुपर्ने बताएका हुन् । ‘यो मुद्दाले धेरै समय खाइसक्यो, ३० गतेभित्र बहस सक्नुपर्छ’ प्रधानन्यायाधीश जबराले भने ।
प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा माघ ४ गतेदेखि अन्तिम सुनुवाइ चलिरहेको छ । माघ १८ गतेसम्म रिट निवेदक पक्षका वकिलले बहस गरेका थिए ।
सरकारी पक्षबाट नायव महान्यायाधिवक्ता डा। टेकबहादुर घिमिरेले बहस गरेका थिए । प्रधानमन्त्री ओलीका निजी वकिल र सभामुखका निजी वकिलहरूले बहस सकेपछि एमिकस क्युरीका ५ जनाले बहस गर्नेछन् ।
प्रधानमन्त्रीका तर्फबाट बहस गरेका बडालले संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसद् विघटन गरेर ताजा जनादेशमा जान पाउने जिकिर गरे । यसअघि ओलीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि बहस गरिसकेका छन् ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गतेको लागि निर्वाचन घोषणा गरेकी थिइन् ।
प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij