२०८२ माघ १६ गते शुक्रवार
नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायतका दलले वैकल्पिक समीकरण बनाएर सरकारका लागि बहुमत जुटाउने कसरत शुरू गरेका छन् । राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ (२) अनुसारको सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा एमाले–माओवादीलगायतका दलले बहुमत जुटाउने कसरत गरेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकमा प्रतिनिधिसभाका दोस्रो, तेस्रो, चौंथौ र छैटौँ दल सहभागी छन् ।
पाँचौं दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष ओलीसँग छलफल गरिसकेका छन् । बालकोटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत सहभागी छन् ।
जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई केहीबेर छलफलमा बसेर संस्थागत निर्णयका लागि भन्दै बाहिरिएका छन् ।
बालकोट पुगेका दलहरूको मत संख्या जोड्दा स्पष्ट बहुमत पुग्छ । प्रतिनिधिसभामा एमालेसँग ७८, माओवादीसँग ३२, रास्वपासँग २० सीट छ ।
यस्तै राप्रपाको १४ र राजपाको १२ सीट छ । पाँच दल जोड्दा १५६ पुग्छ । राप्रपा या राजपाविना पनि बहुमत पुग्छ । जसपा नहुँदा १४४ हुन्छ भने राप्रपा बाहिर रहँदा १४२ पुग्छ ।
वामपन्थीको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बन्दा जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद पनि जोडिन सक्छन् ।
राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक एक सांसद पनि वामपन्थी गठबन्धनको पक्षमा उभिने सम्भावना रहन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij