२०८२ माघ १६ गते शुक्रवार
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाउँदै त्यसको जानकारी संसद सचिवालयलाई उपलब्ध गराएको छ । नवनिर्वाचित सांसदहरुले सांसदका रुपमा सपथ लिए पछि बल्ल उनीहरू प्रतिनिधिसभाको सदस्य बन्ने छन् ।
अहिलेसम्म भने उनीहरू निर्वाचित उमेदवारका रुपमा मात्र कायम छन् । कोही फौजदारी अभियोग लागेका भए उनीहरुले प्रतिनिधिसभा सदस्यका रुपमा सपथ लिन पाउँदैनन् । र, निर्वाचित भएर पनि प्रतिनिधिसभा सदस्य बन्न सक्दैनन् ।
यसरी हुन्छ सांसदहरुको सपथ प्रक्रिया
निर्वाचन आयोगले बिहीबार संसद् सचिवालयलाई निर्वाचितहरुको विवरण पठाएको छ । तर, आयोगले उपलब्ध गराएको निर्वाचितहरुको विवरणमा जन्म मिति र उमेर उपलब्ध नभएपछि संसद सचिवालयले निर्वाचन आयोगलाई पत्र पठाएको छ । संघीय संसद् सचिवालयको सांसद सुविधा शाखाले शुक्रबार निर्वाचन आयोगलाई पत्र पठाएर जन्म मितिसहितको विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ ।
“हामीले पाएको विवरणमा निर्वाचित प्रतिनिधिहरुको जन्म मिति उल्लेख छैन,” संघीय संसद् सचिवालयको सांसद सुविधा शाखाका प्रमुख रामहरि थापाले भने, “त्यसैले निर्वाचन आयोगलाई पत्राचार गरेका छौं ।” उनले सम्भवत आइतबारसम्म आयोगले जन्म मितिसहितको विवरण सचिवालयलाई उपलब्ध गराउने विश्वास व्यक्त गरे ।
निर्वाचन आयोगले सचिवालयलाई जन्म मितिसहितको विवरण उपलब्ध गराए पछि सचिवालयले राष्ट्रपति कार्यालयलाई जेष्ठ सदस्यको नाम सिफारिस गर्छ ।
प्रतिनिधिसभामा सभामुख चयन नहुँदासम्म जेष्ठ सदस्यले नै सभामुखको भूमिका निर्वाह गर्ने हुँदा राष्ट्रपतिबाट जेष्ठ सदस्यले रुपमा सपथ लिन्छन् । जेष्ठ सदस्यको सपथ पछि संघीय संसद सचिवालयले सांसदहरुलाई आफू निर्वाचित भएको प्रमाणपत्रसहित सपथ ग्रहणमा आउन सूचना जारी गर्नेछ ।
“जन्म मितिसहितको विवरण उपलब्ध भए पछि संसद सचिवालयले राष्ट्रपति कार्यालसँग समन्वय गरेर जेष्ठ सदस्यको नाम सिफारिस गर्नेछ,” संघीय संसद सचिवालयका खसहायक प्रवक्ता दशरथ धमलाले भने, “राष्ट्रपतिले जेष्ठ सदस्यलाई सपथ ग्रहण गराएपछि बाँकी सांसदहरुलाई जेष्ठ सदस्यले नै सपथ गराउने भएकाले त्यसपछि अन्य सांसदहरुको सपथको तयारी सचिवालयले गर्छ ।”
उनले अघिल्लो पटक सांसदहरुको सपथ अगावै सरकार गठन भएको भन्दै यसपटक त्यस्तै भए संसदको बैठक सुरु हुने एक दिन अघि मात्र सपथ हुने जानकारी दिए । सांसदहरुको सपथ सरकार गठनका लागि हुने अभ्यासका आधारमा छिटो वा ढिलो हुनसक्ने उनले बताए ।
“संसद् सचिवालयले जेष्ठ सदस्यको सपथ भएपछि प्रतिनिधिसभाको अधिवेशन आह्वान भएर बैठक बस्ने अघिल्लो दिन मात्र सांसदहरुको सपथको कार्यक्रम राख्छ,” धमलाले भने, “तर, सांसदहरुको सपथ पछि मात्र सरकार बनाउने कसरत भयो भने सांसदहरुको सपथ पनि चाँडै हुनसक्छ ।”
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij