Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

राष्ट्रपतिलाई निर्वाचनको अन्तिम प्रतिवेदन बुझाएसँगै सरकार गठनको ३५ दिने ‘काउन्टडाउन’ शुरू

राष्ट्रपतिलाई निर्वाचनको अन्तिम प्रतिवेदन बुझाएसँगै सरकार गठनको ३५ दिने ‘काउन्टडाउन’ शुरू


  • 1.6K
    Shares

    राष्ट्रपतिलाई  निर्वाचनको अन्तिम प्रतिवेदन बुझाएसँगै सरकार गठनको ३५ दिने ‘काउन्टडाउन’ शुरू

    निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै सरकार गठनको ‘काउन्टडाउन’ शुरू भएको छ । राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्ने प्रक्रिया अब शुरू हुनेछ । 

    राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीवार आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका थिए । आयोगले अन्तिम मतपरिणाम राष्ट्रपतिलाई हस्तान्तरण गरेलगत्तै नयाँ सरकार गठनको प्रक्रिया शुरू हुने संविधानविद्हरूको तर्क छ । 

    २०७४ सालमा निर्वाचन आयोगले प्रतिवेदन बुझाएको भोलिपल्ट फागुन ३ गते राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । त्यो बेला पनि चुनावी सरकारको नेतृत्व शेरबहादुर देउवाले गरेका थिए । 

    यसपटक प्रतिनिधि सभाका सदस्यले शपथ लिएपछि मात्र नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरू गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष छ । मंसिर १९ गते बसेको सत्ता गठबन्धनको बैठकमा सांसद्को शपथपछि प्रधानमन्त्री नियुक्ति प्रक्रिया शुरू गर्ने सहमति भएको कांग्रेसका एक नेताले बताए । 

    शपथ ग्रहणका लागि संसदको अधिवेशन शुरू हुन जरुरी छ । संविधानको धारा ९३ मा ‘राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचननको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्नेछ’ भन्ने उल्लेख छ ।

    संविधानको व्यवस्थाअनुसार नै पुस २९ गतेअगावै प्रतिनिधि सभाको अधिवेशन आह्वान भइसक्नुपर्नेछ । 

    संविधानको धारा ७६ को उपधारा ८ मा ‘प्रतिनिधिसभा निर्वाचनको अन्तिम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र यस धारा बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ’ भन्ने उल्लेख छ । 

    प्रधानमन्त्री नियुक्तिका लागि राजनीतिक दलले संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ । मंसिर ४ गतेको चुनावमा ८९ सिटसहित कांग्रेसले पहिलो स्थान हासिल गरेको छ भने ७८ सिटसहित एमाले दोस्रो पार्टी बनेको छ । कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनले नै सरकार बनाउने गृहकार्य गरिरहेको छ ।

     
     

    प्रकाशित मिति :मंसिर २९ २०७९ बिहिवार - १३:३८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij