Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

स्याङजामा बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’

स्याङजामा बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’


  • 1.6K
    Shares

    स्याङजामा बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’

    स्याङजाको पुतली बजारमा बङ्गुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखा परेको छ । बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याब परीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिए । 

    जिल्लाको पुतलीबजार नगरपालिकाको १४ लगायतका विभिन्न वडामा किसानले पालेका बङ्गुरमा रोग देखा परेपछि पोखरास्थित पशुरोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा प्रयोगशालाले उक्त रोग भएको पुष्टि गरेको हो । “बङ्गुरमा रोग लागेपछि दशैँअघि पनि एकपटक परीक्षणका लागि प्रयोगशालामा नमुना पठाएका थियौँ”, उनले भने, “त्यतिबेला ‘रिपोर्ट नेगेटिभ’ आयो, अहिले तिहारअघि पठाएको ‘रिपोर्ट पोजेटिभ’ आएको छ ।”

    पुतलीबजारका विभिन्न स्थानमा किसानले पालेका बङ्गुरमा एक महिना अघिदेखि यो रोगको सङ्क्रमण फैलिएको हो । “यसको कुनै उपचार विधि तथा भ्याक्सिन छैन”,उनले भने, “सङ्क्रमण फैलिएको स्थानमा आवातजावत गर्दा चुना र ‘भिरकोन’ छर्किने, मरेका बङ्गुरलाई खाडल खनेर गाड्नुपर्छ ।” सङ्क्रमण फैलिएका ठाउँमा कार्यालयबाट चुना र ‘भिरकोन’ उपलब्ध गराइएको र व्यवसायीलाई प्राविधिक ज्ञान तथा परामर्श दिइएको उनले बताए ।

    यो सरुवा रोग भएकाले सङ्क्रमित बङ्गुरलाई छुट्टै राख्ने, होटलमा फालिएका खानेकुरालाई राम्रोसँग पकाएर खुवाउनुपर्ने सुझाव उनको छ । स्याङजाको पुतलीबजार १४ र सोही पालिकाको अन्य दुई ठाउँमा देखिएको सङ्क्रमणबाट हालसम्म तीनसय बढी बङ्गुर तथा पाठापाठी मरिसकेको विवरण प्राप्त भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १५ २०७९ मंगलवार - १३:५७:५५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij