२०८२ माघ १३ गते मंगलवार
बझाङको खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देखिने बित्तिकै राहतको आश्वासन दिन आएको सम्झिन्छन् । उनी बझाङ–बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा सुनाउन आएको हुनसक्ने अनुमान गर्छन् ।
गाउँमै बाटो भएपछि त मानिस ओहोरदोहोर गर्दा उनलाई १–२ जना दानी मानिस ९दाता० को आशा नलाग्ने कुरै भएन । उनी दिनहुँ आशा देखाउनेको बाटो हेर्दैमा दिन बितेको पत्तै पाउँदैनन् । हुन पनि १ वर्षको बीचमा खाती परिवारलाई राहतको कुरा ३ दर्जन बढी मानिसले सुनाइसके ।
कसैले पालिकासँगको समन्वयमा राहत दिने भने त कसैले प्रदेशसँगको समन्वयमा राहत दिने भने तर महिना बित्यो, वर्ष बित्यो राहत आएन ।
‘बाढी आएको १ वर्षभन्दा बढी भइसक्यो । हामी त्यो बेलादेखि राहतकै पर्खाइमा छौं,’ उनले भने, ‘आश्वासन दिने ३०–३५ जना आइसके तर कसैले पनि सम्झिएनन् । ‘दाता’ भनाउँदाको बाटो हेर्दैमा बित्यो वर्ष दिन ।’
गत वर्ष कात्तिक २ गते आएको बाढीले खातीगाउँवासीले सर्वस्व गुमाए । २ परिवारले त रित्तो ज्यानबाहेक सबै गुमाए । अर्काका छानोमा बसेका २ परिवारलाई ३–४ जनाले केही खाद्यान्न पनि सहयोग गरे भने आफन्तले भाँडाकुँडा तथा लुगाकपडाको व्यवस्था गरे ।
‘सहयोगप्राप्त गरेको रकम तथा अन्नले २ महिनालाई खान पुग्यो,’ उनले भने । बाँकी समय आफन्तको सहयोगमै गुजारा गरिरहेको उनले बताए ।
गत वर्ष बाढीपछि समाजसेवी धिरा खत्रीले १० हजार, कलक खत्रीको टीमले ५ हजार र अन्य केही व्यक्तिले अन्न सहयोग गरेको थियो । ज्ञानदेवी खातीले भनिन्, ‘बाढी आएको साढे १३ महिना हुन लागिसक्यो । सर्वस्व गुमाएका हामीहरू अझै भोक मेटाइको पर्खाइमै छौं । तिहार–सिहार त हाम्रो लागि परको कुरा ।’
उनले भोको पेटले आश्वासन थेग्न नसक्ने बताइन् । उनले भनिन्, ‘भोको पेटले आश्वासन थेग्न सक्दैन रहेछ । धेरै निकायले दिगो व्यवस्था गछौं भनेर आश्वासन बाँडे तर हामीलाई भने कसरी भोक मेटाउने चिन्ता लागिरहन्छ । जाने कतै ठाउँ छैन न त खाने गास नै ।’
ठूलो परिवार त्यसैमा बालबालिका बढी भएको हुँदा मजदुरी गर्न शहर पनि जान नसकेको उनले बताइन् । ‘गाउँघरमा कतै योजना आएमा काम गर्न त हुन्थ्यो, गाउँ खोला नजिक भएको हुँदा योजना पनि आउँदैन । शहर पस्नलाई शहरबारे जानकारी नै छैन,’ उनले भनिन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij