२०८२ भाद्र २ गते सोमवार
सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरूलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसबारे जानकारी दिएका हुन् ।
उनले वैदेशिक रोजगारीको क्रममा भएका ठगीको उजुरी प्रमुख जिल्ला अधिकारीले हेर्न पाउने र उजुरी उपर कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्थाको कार्यान्वयन प्रभावकारी बनाइएको पनि बताए ।
मन्त्री कुँवरले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउने सम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर भइ काम अगाडि बढेको पनि उल्लेख गरे । यस्तै रोमानियाको भिसा प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगार कार्यालय ताहाचलमा अस्थायी रुपमा रोमानिया मिसन स्थापना गरिएको उनले जानकारी दिए ।
यस्तै इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८ समसामयिक बनाउने कार्यदल गठन भइ कार्य भइरहेको पनि उनले जानकारी दिए । सातवटै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरुबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम भइरहेको बताइएको छ ।
मन्त्री कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना, रोजगार प्रवर्द्धन कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पुनः एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट हुनेगरी कार्यान्वयन गरिएको उल्लेख गरे । यस्तै श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्य स्थलको पहिचान गर्ने सम्बन्धी प्रतिवेदन तयार भइ जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको उनले बताए ।
यसैबीच कम्तीमा २ वर्ष सामाजिक सुरक्षामा योगदान गर्ने योगदानकर्ताहरुलाई कोरोनरी आर्टरी बाइपास वा ओपनहार्ट सर्जरी, मस्तिष्कघात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स लगायत १० प्रकारका घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च प्रदान गर्ने व्यवस्था गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij