Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

कञ्चनपुरका बाढीपीडितको त्रिपालमुनि बास, भन्छन् : अन्न माटोमा मिसियो, परिवार कसरी पाल्ने ?

कञ्चनपुरका बाढीपीडितको त्रिपालमुनि बास, भन्छन् : अन्न माटोमा मिसियो, परिवार कसरी पाल्ने ?


  • 2.2K
    Shares

    कञ्चनपुरका बाढीपीडितको त्रिपालमुनि बास, भन्छन् : अन्न माटोमा मिसियो, परिवार कसरी पाल्ने ?

     कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । अहिले यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ ।

    बाढीले प्रभावित भएपछि जङ्गलमा त्रिपाल टाँगेर ओत बसेको एकान्त टोलका मेघु बोहरा बताए । ‘घरभित्रको सामान पूरै बाढीले लग्यो, घरका खम्बा मात्रै बाँकी छन्’, उनले भने, ‘घरभरी माटो नै माटो भएको छ, लत्ताकपडा सबै बाढीले लग्यो ।’

    शुक्रबार राति वनहरा नदीमा आएको बाढीले आफूहरुको बिचल्ली भएको उनको गुनासो छ । ‘यतिका दिन भयो, आजसम्म जङ्गलमै त्रिपाल टाँगेर बसेका छौँ, घर कसरी फर्किने त्यहाँ बाढीले केही राखेको छैन’, उनले भने, ‘ओढ्न, बिछ्यान केही छैन, खानका लागि एक कट्ठा चामल पाएका थियौँ, त्यो सकिएपछि के खाने भन्ने चिन्ता छ ।’

    जङ्गलमा त्रिपालमुनि बिछ्याउने कपडा नहुँदा समस्या भएको हरिकृष्ण भट्टको गुनासो छ । ‘घर बस्न लायक नै छैन, फेरि के पो हुन्छ भन्ने डरले त्यहाँ गएका छैनौँ’, उनले भने, ‘वर्षभरी खाने खेतको अन्नसमेत माटोमा मिसिएको छ, अब कसरी परिवार पाल्ने, अनिकाल लाग्ने भयो ।’

    एकान्त टोलमा १५ कट्ठा जग्गामा लगाएको उनको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पुर्‍याएको छ । ‘धानसँगै बदाम, मास र तिल पनि बाढीले ल्याएको बालुवाले पुरियो, २०६४ सालयता यस्तो बाढी हामीले कहिल्यै देखेनौँ’, उनले भने ।

    बाढी प्रभावित शुक्लाफाँटा नगरपालिका–११ वनहरा शिविरका सुकुम्बासी पनि बिचल्लीमा परेका छन् । त्यहाँका ३० परिवार पनि नजिकैको जङ्गलमा त्रिपालमुनि रात काटिरहेका छन् ।

    बर्सेनि बाढीको पीडा झेल्दै आए पनि अहिलेसम्म सरकारले आफूहरूलाई नहेरेको वनहराका सुकुम्बासीको गुनासो छ । ‘नदीले उताबाट धकेल्छ, यताबाट वनले धपाउँछ, प्रशासनले बाँच्नुहोस् भन्छ, कहाँ जाने हामी ?’, स्थानीयबहादुर कामीले भने ।

    बाढीले घरभित्र माटो भरिएकाले बस्तीमा बस्नै नसकिने अवस्था रहेको मानध्वज लुहार बताए । ‘चामल पाएका छौँ, पकाउनलाई भाँडा छैनन्, कहाँ पकाउने ? कसरी पकाउने ? बस्तीमा पानी पनि छैन’, उनले दुखेसो पोखे। बर्सेनि बाढीले दुःख दिँदै आए पनि अहिलेसम्म यसको दिगो व्यवस्थापन हुन नसक्दा पीडा खेप्नुपरेको देवकी विष्टले बताइन् ।

    ‘राति एक्कासी बाढी आयो, बालबच्चा काखमा च्यापेर भागे, सरसमान जोगाउन सकिएन’, उनले भनिन्, ‘बाख्रा, लत्ताकपडा कहाँ पुगे, अहिले जङ्गलमा बस्नुपरेको छ, खानलाई अन्न छैन ।’

    यता, बाढी प्रभावितलाई सुरक्षित स्थानमा सारिएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले जानकारी दिए । ‘बाढीपछिको अवस्थालाई सामान्य बनाउने प्रयास गरिरहेका छौँ, प्रभावितलाई सुरक्षित स्थानमा राखेका छौँ’, उनले भने, ‘उनीहरूको खाने, बस्ने व्यवस्था पनि मिलाएकाछौँ ।’

    प्रकाशित मिति :आश्विन ७ २०७९ शुक्रवार - १२:५९:४९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij