२०८२ माघ १४ गते बुधवार
पाँचखाल नगरपालिकामा सघन शहरी विकास कार्यक्रम लागू गरिएको छ । यसका लागि शहरी विकास मन्त्रालयद्वारा प्रशासनिक प्रक्रिया अघि बढाइएको हो ।
सरकारले ग्रीन स्मार्ट–सिटी निर्माणार्थ गत वर्ष फागुनमा मन्त्रालयको सघन शहरी विकास कार्यक्रम अन्तर्गतको कार्यक्रम लागू गर्न ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही कार्यक्रमअन्तर्गत मन्त्रालयले देशका ४४ नगरलाई छनोट गरेकामध्ये पाँचखाल नगर पनि परेको हो ।कार्यक्रम लागू गर्न शहरी विकास तथा पूर्वाधार निर्माण कार्यालयले टेण्डर आह्वान गरिसकेको छ ।
पाँचखाललाई प्राप्त बजेटमध्ये ५० प्रतिशत सडकमा, ३० प्रतिशत आयआर्जन, १५ प्रतिशत सामुदायिक पूर्वाधार तथा ५ प्रतिशत शासकीय पूर्वाधार निर्माणमा खर्च गर्नुपर्नेछ ।कार्यक्रमअन्तर्गत बसपार्क निर्माण, मिनी–मार्केट, हाट बजार तथा नगरका सडक तथा नाली थप व्यवस्थित गराइने छ । नगरपालिकाले यसमा समन्वयात्मक भूमिका र सहजीकरण गर्नेछ ।
कार्यक्रमले नगरको ‘ग्रीन स्मार्ट–सिटी’को योजनालाई थप मद्दत गर्ने नगर प्रमुख महेश खरेलले बताए । उनले भने, ‘चालू आवमा ग्रीन स्मार्ट सिटीको डीपीआर सकेर निर्माण थाल्ने योजनामा छ ।’यसअघि नै नगरले नेपालमै पहिलो ग्रीन स्मार्ट–सिटी निर्माणका लागि आर्थिक वर्ष २०७९/८० मा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण कार्य थालनी गर्ने योजना बनाएको थियो । यसका लागि नगरले विदेशी कम्पनीसँग सम्झौता गरी प्रक्रिया थालिसकेको छ ।
गत वर्षको फागुन पहिलो हप्ता पाँचखाल नगरमा विकास गरिने ग्रीन स्मार्ट सिटीका लागि सिंगापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमईसी इन्टरनेसनल प्रालि (एसएमईसी) बीच निर्माणको सम्झौता गरिसकिएको छ ।
समझदारीपत्रमा सिंगापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्म समेत रहेको एसजेको सदस्य एसएमईसीले प्रस्तावित काभ्रेपलाञ्चोकको पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रियस्तरमा सफल अभ्यास अध्ययन–विश्लेषण सम्बन्धी कार्य गर्ने जनाइएको छ । यसका लागि पाँचखाल नगरले स्थानीयसँग जग्गा प्राप्तिका लागि आवश्यक सहजीकरण गर्नेछ ।
सम्झौताअनुसार काठमाडौंस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा) ले स्मार्ट सिटीको ‘बजार अध्ययन’का लागि अमेरिकन परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्टस् प्रालिसँग गत वर्ष सम्झौता भएको छ ।निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij