२०८२ भाद्र २ गते सोमवार
नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) को आईपीओ ५० कित्ता माग गर्नेलाई माग अनुसार नै पाउने भएका छन् । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बुधबार सम्पन्न भएको प्रि अलटमेन्ट अनुसार १० देखि ५० कित्तासम्म शेयर माग गर्ने आवेदकलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको छ ।
यसरी बाँडफाँड गरी बाँकी रहन आएको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ६० कित्ता वा सोभन्दा बढी कित्ताका लागि माग गर्नेमध्येबाट गोलाप्रथाबाट थप १० कित्ताका दरले बाँडफाँड हुने क्यापिटलले जनाएको छ ।
यसअनुसार ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता सहित ६० कित्ता शेयर पाउने भएका छन् । अन्य बाँकीले अधिकतम ५० कित्तासम्म शेयर पाउनेछन् ।
बुधबार प्रि-अलोटमेन्ट गरी शुक्रबार बिहान १० बजे आईपीओ बाँडफाँडको लागि क्यापिटलले स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ । आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य बनेको छ । आवेदन दिएकामध्ये ६ हजार २७६ वटा आवेदन रद्ध भएको छ ।
बैंकले माघ २ देखि ६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । बैंकले १०० रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर निष्काशन गरेकोमध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट माग गरिएको थियो ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने ब्यवस्था थियो ।
नेपाली पूँजीबजारमा निष्काशनमा आएको सबैभन्दा ठूलो आईपीओमा आवेदन पनि सबैभन्दा धेरै परेको थियो । हाल १२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको आईपीओपछि २० अर्ब रुपैयाँ पुग्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij