२०८२ माघ १३ गते मंगलवार
हिमाली जिल्ला मनाङमा नयाँ उद्योग थपिने क्रममा छन् । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा ४९ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश उद्योग कृषि तथा वन पैदावरमा आधारित छन् ।
एक वर्षका अवधिमा जिल्लामा ३१ कृषि तथा वन पैदावरमा आधारित नयाँ उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले जानकारी दिए उहाँका अनुसार जिल्लामा १७ पर्यटन उद्योग र सेवा मुलक उद्योग एउटा थपिएको छ ।
हाल मनाङवासी निजी उद्योग दर्तातर्फ आकर्षित भएको पाइएको उहाँले बताउनुभयो । सो अवधिमा जिल्लामा ३६ जिल्ला निजी उद्योग दर्ता भएका छन् भने साझेदारी उद्योग १३ दर्ता भएको उहाँले बताउनुभयो । जिल्लामा ५३ उद्योगको नवीकरण, पाँच उद्योगको नामसारी, छ उद्योगको पूँजी वृद्धि, तीन उद्योगको नाम परिवर्तन, दुई वटाको लगतकट्टा र छ उद्योगको प्रतिलिपि बनाइएको उहाँले जानकारी दिए । वाणिज्यतर्फ पाँच नयाँ दर्ता, सात नवीकरण, दुई नामसारी, तीनको पूँजी वृद्धि, एकको नाम परिवर्तन, एकको प्रतिलिपि, एकको लगतकट्टा गरिएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा उद्योगतर्फ कूल चार सय ८५ र वाणिज्यतर्फ कूल ९३ सञ्चालनमा रहेको घरेलु कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७÷७८ मा उद्योगतर्फ कूल चार सय ३६ र वाणिज्यतर्फ कूल ८८ सञ्चालनमा रहेका थिए । घरेलु कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा उद्योगतर्फ रु तीन लाख आठ हजार एक हजार ५० राजश्व सङ्कलन गरेको छ । त्यस्तै सोही अवधिमा वाणिज्यतर्फ रु १९ हजार आठ सय २५ राजश्व सङ्कलन गरेको छ । अन्यबाट रु दुई हजार आठ सय २० गरी कूल तीन लाख ३० हजार सात सय ९५ राजश्व सङ्कलन भएको प्रमुख पौडेलले बताए।
“यस आर्थिक वर्षमा जिल्लामा विभिन्न तालिम तथा प्रविधि हस्तान्तरण पनि गरिएको छ,” कार्यालय प्रमुख पौडेलले भन्नुभयो । उद्योगलाई टिकाउ बनाउन विभिन्न तालिमका साथै प्रविधिको उपयोगलाई प्राथमिकता दिन सञ्चालकलाई सचेत गराउने र उद्योगलाई सक्रिय बनाइरहन प्रोत्साहनसमेत गर्ने गरिएको उहाँले जानकारी दिए ।
सोही अवधिमा उद्यमशीलता विकास, अचार बनाउने तालिम, आधारभूत बेकरी निर्माण, आधारभूत हाते बुनाइ तथा पत्रकारिता तालिम लगायतका विभिन्न तालिमका साथै प्रविधि हस्तान्तरणसमेत गरिएको कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij