२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । प्रतिनिधीसभा विघटनविरुद्ध संघर्ष गरिहरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूह आक्रामक रुपमा प्रस्तुत हुने देखिएको छ । अनेरास्ववियूले हिजो प्रज्ञा भवनमा आयोजना गरेको भेलामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्तेजित अभिव्यक्ति दिए । उनको अभिव्यक्तिबाट अबको आन्दोलन हिंसात्मक हुने संकेतको सहज अनुमान लगाउन सकिन्छ ।
प्रचण्डले युवाहरुलाई सम्बोधन गर्दै भने, “तपाईंहरु आक्रामक ढंगले आउन जरुरी छ । ९ गते हामी अलि म्यासिभली जानेछौं । यसपटक हामी अग्रपंक्तिमा हुनेछौं,” उनले भने, “हिजो गिरिजाबाबु अथवा झलनाथ, माधवजीले लाठी खाएजस्तो मलाई किन-किन मेरो पनि टाउको चिलाएको हो । लाठी खान मन छ यो पटक ।”
दुईपटक प्रधानमन्त्रीसमेत भइसकेका प्रचण्ड त्यतिमै रोकिएनन् उनले आफूहरु प्रधानमन्त्री ओलीमाथि जाइलाग्न चाहेको पनि बताए । संसद् विघटनपछि नेकपा औपचारिक रुपमा मात्रै फुट्न बाँकी छ । माघ ९ गते नेकपाले काठमाडौंमा दुई लाख मानिस उतार्ने दाबी गरेको छ । यसअघि नेकपा (प्रचण्ड–नेपाल समूह)ले देशका विभिन्न स्थानमा गरेका प्रदर्शनमा अपेक्षाकृत उपस्थिति हुन सकेको छैन ।
संसद् विघटनविरुद्ध सबैजसो दलले आ-आफ्नै ढंगले प्रर्दशन गरिरहेका छन् । (हिजो) आइतबार एकैदिन प्रचण्डले दुई कार्यक्रमलाई सम्बोधन गरे । अनेरास्ववियूको कार्यक्रममा प्रचण्ड आक्रामक देखिए । सम्बोधनकै क्रममा प्रचण्डले भने, “यसपटक शाकाहारी आन्दोलनले पुग्दैन, यस्ता आन्दोलन पार्टीभित्र कति गरियो कति ।”
पूर्वप्रहरी अधिकारीहरु प्रचण्डको यो अभिव्यक्ति कार्यकर्तालाई उत्तेजित र हिंसात्मक बन्न प्रेरित गर्ने बताउँछन् । शान्तिपूर्ण आन्दोलनले उचाइँ नलिँदा प्रचण्डले आक्रामक बन्न निर्देशन दिँदा युवाजमात उत्साही हुनसक्ने आकलन गरेको हुनसक्ने प्रहरी अधिकारीहरुको दाबी छ ।
नेकपाकै नेता-कार्यकर्ताहरु संघर्ष शिथिल बनेको आरोप पार्टीकै नेता कार्यकर्ताहरुले आरोप लगाउन थालेको छन् । त्यही मनोविज्ञान बुझेर प्रचण्डले भने, “गर्जिनुपर्ने बेला भयो । अब शाकाहारी आन्दोलनले पुग्दैन । त्यसलाई त उनले गन्नेवाला नै छैनन् ।”
अधिकांश समय उनले ओलीमाथि आरोपको वर्षा गरे । दुईपटक प्रधानमन्त्री भइसकेका प्रचण्डको अभिव्यक्तिको असर भने प्रहरीमा परेको छ । सडकमा प्रदर्शन हुँदा त्यसलाई व्यवस्थित गर्ने दायित्व प्रहरीको काँधमा हुन्छ । ९ गते नेकपाको प्रदर्शनलाई लक्षित गरेर उल्लेख्य मात्रामा सुरक्षाकर्मी खटाउने योजना सरकारको छ ।
प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर आफूहरु कानुनअनुसार चल्ने बताउँछन् । उनले भने, “हामीहरु कानुनले दिएको अधिकार प्रयोग गर्छौं । स्वभाविक रुपमा शीर्ष नेताहरुले बोलेका कुराहरुलाई पनि हामी हेर्छौं, विश्लेषण गर्छौं ।” आईपरे सबैलाई नियन्त्रणमा लिएर अनुशन्धान गर्न पनि सकिने उनको भनाई थियो। यता प्रधानमन्त्री ओलीले प्रचण्डको निगरानी गर्न बिसेष आदेश दिएको बुझिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij