२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि संसद पुनर्स्थापना कि निर्वाचन भन्ने विषयमा अहिले मुलुक दुई ध्रुवमा विभाजित बनेको छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटउपर सर्वोच्च अदालतमा सुनुवाई जारी छ । अदालतका विचाराधीन मुद्दाका विषयमा अहिले कतिपय दलहरुले सडक आन्दोलन गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा बाहेक अन्य दलले संसद विघटनलाई असंवैधानिक भन्दै पुनस्र्थापनाको माग गरेका छन् । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा भने संसद पुनर्स्थापना कि निर्वाचन भन्ने विषयमा मतभेद छ ।
सभापति शेरबहादुर देउवा निर्वाचनमा जानुपर्ने पक्षमा छन् । प्रधानमन्त्रीले संसद विघटन गरेपछि सभापति देउवाको निवास बुढानिलकण्ठमा विभिन्न जिल्लाबाट आउने नेता,कार्यकर्ताहरुको भीड लाग्ने गरेको छ ।
कम्युनिष्ट सरकारको व्यवहारबाट जनता आजित भएका छन् । कांग्रेस नेतृत्वको सरकारले मुलुक र जनताको हितमा काम गर्न सक्छ । त्यसैले अहिलेको अवसरलाई सदुपयोग गर्नुपर्छ भन्ने उहाँहरुको सुझाव हुने गरेको छ ।
देउवा निवास पुग्ने अधिकांश नेता कार्यकर्ताले देउवालाई चुनावमा जान सुझाव दिने गरेका छन् । ‘प्रमुख प्रतिपक्षको रुपमा अहिले निर्वाचनमा जाँदा सिंगो मुलुक र पार्टीलाई फाइदा हुन्छ भन्ने सुझाव धेरै नेता कार्यकर्ताबाट आउने गरेको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘कम्युनिष्ट सरकारको व्यवहारबाट जनता आजित भएका छन् । कांग्रेस नेतृत्वको सरकारले मुलुक र जनताको हितमा काम गर्न सक्छ । त्यसैले अहिलेको अवसरलाई सदुपयोग गर्नुपर्छ भन्ने उहाँहरुको सुझाव हुने गरेको छ ।’
सभापति देउवालाई चुनावमा जान सुझाव दिनेमात्र नभइ टिकट माग्नेको पनि उत्तिकै भीड लाग्ने गरेको छ । आफूले टिकट पाए आगामी निर्वाचनमा जित हासिल हुने भन्दै सभापतिलाई आश्वस्त पार्ने काम हुन थालेको छ ।
स्रोतका अनुसार आफूलाई भेट्न आउने नेता कार्यकर्तालाई सभापति देउवाले प्रतिनिधिसभा पुनस्र्थापना भए कांग्रेस तेस्रो दल बन्ने र अहिले पाइरहेको हैसियत पनि गुमाउने भन्दै अब कांग्रेस निर्वाचनको पक्षमा लाग्न सुझाव दिने गरेका छन् ।
तर कांग्रेसभित्रै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने संसद पुनर्स्थापनाको पक्षमा छ । सभापति देउवालाई जस्तै वरिष्ठ नेता पौडेललाई भेट्न जाने कार्यकर्तालाई पौडेलले चुनावमै जाने भएपनि प्रतिनिधिसभा पुनर्स्थापना पछि जानु पर्छ भन्दै कार्यकर्तालाई कन्भिन्स गर्ने गरेका छन् ।
पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीका अनुसार पौडेल निवासमा दुवै थरी विचार भएका नेता कार्यकर्ता जाने गर्छन् । तर चुनावमा जानुपर्छ भन्ने कार्यकर्तालाई पौडेलले अहिलेको अवस्थामा चुनावमा जाँदा मुलुकमा आर्थिक भार पर्ने, गलत नजिर स्थापना हुने भन्दै संसद पुनर्स्थापनाको पक्षमा लाग्नुपर्ने बताउने गरेका छन् ।
यद्यपी कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै देशव्यापी आन्दोलन गरिरहेको छ । कांग्रेसको दोस्रो चरणको आन्दोलन अहिले पनि जारी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij