Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

अध्यक्ष ओलीले पाए स्काउटको ‘मेधावी योगदान पदक’

अध्यक्ष ओलीले पाए स्काउटको ‘मेधावी योगदान पदक’


  • 2.9K
    Shares

    अध्यक्ष ओलीले पाए स्काउटको  ‘मेधावी योगदान पदक’
    images

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान गरिएको छ।विश्व स्काउट संगठन, एशिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ ओलीलाई प्रदान गरिएको हो।

    नेपाल स्काउटले बिहीबार काठमाडौंमा गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई उक्त पदक प्रदान गरेकी हुन्।

    ओलीले प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै पदक प्रदान गरिएको बताइएको छ।

    समारोहमा राष्ट्रपति भण्डारीले शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर मुलुकका लागि पूर्वप्रधानमन्त्री ओलीले दिएको योगदानप्रति ‘मेधावी योगदान पदक’ ले गौरव प्रदान गर्ने बताएकी थिइन्।

    उनले स्वयंसेवा र अनुशासनका माध्यमबाट नेतृत्व विकास गराउन स्काउटको सान्दर्भिकता रहेको उल्लेख गर्दै नेपाली बालबालिका र युवालाई अनुशासित, जागरुक र कर्तव्यनिष्ट बनाइ विश्वस्तरमा प्रतिस्पर्धी तुल्याउन स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएकी थिइन्।

    पदक ग्रहणपछि अध्यक्ष ओलीले मानव कल्याणका लागि अझै गतिशील र सङ्गठित हुन स्काउटलाई आग्रह गर्दै चारित्रिक र नैतिक हिसाबले आदर्शवान समाज निर्माणमा अग्रसर हुनुपर्ने बताएका थिए।

    स्काउटलाई अप्ठ्याराका साथीका रुपमा उनले चित्रण गरेका थिए। सो अवसरमा नेपालका ज्येष्ठ स्काउट कलाकार प्रा गोविन्दनारायण ज्यापुलाई पनि सम्मान गरिएको थियो।

    नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार अध्यक्ष ओली सो पदक प्राप्त गर्ने पहिलो नेपाली हुन्।

    नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ। प्रधानमन्त्रीकै रुपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रम सुरु गरेका थिए।

    ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना ७५३ वटै पालिकामा विस्तार भएको छ भने बजेटमै प्रबन्ध भई देशका सबै विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने कार्य थालनी भएको छ।

    प्रकाशित मिति :बैशाख २ २०७९ शुक्रवार - १२:०१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij