२०८२ मंसिर ६ गते शनिवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्वले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रका लागि कलेज नै सञ्चालन गर्न नदिएर विद्यार्थी विदेश पठाएर पैसा कमाउने धन्दा गरिरहेको बताएका छन्।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
‘भौतिक संरचना निर्माण गरेको छ। जनशक्ति तयार भएको छ। तर, अनुमति दिन खोज्यो कि केही मानिस हड्तालदेखि भोकै बसेर हैरान गर्ने काम भएको छ,’ उनले भने, ‘नेपालमै जनशक्ति उत्पादन गर्न कसैले खोज्यो भने हुनै नदिने तत्व छन्।’
उनले नेपालमा कजेल सञ्चालन गर्न नदिने गरेको समेत बताए। ‘स्वास्थ्य र इन्जिनियर क्षेत्रमा विद्यार्थीलाई नेपालमै पढाउन भवन बनाइएको छ। तर, अनुमति छैन,’ उनले भने, ‘तिनले अनुमति पाउनुपर्ने हो, तर पाएका छैनन्। केही मानिसहरु रोक्न लाग्छन्। अहिले विदेशमा विद्यार्थी पठाउने व्यापार जस्तै बनेको छ।’
चिकित्सा शिक्षा सुरधारका अभियन्ता डा गोविन्द केसीप्रति इंगित गर्दै ओलीले एकजनाले सुत्दिम् भनेपछि सरकार डरले थरथर हुने अवस्था रहेको टिप्पणी गरेका छन् । अर्कोथरीले सामाजिक सञ्जालमा क्याम्पेन चलाएर स्वास्थ्य क्षेत्र र इन्जिनियर शिक्षा चलाउन पाइँदैन भनेर लाग्ने गरेको उनको भनाइ छ।
अर्को फरक प्रसङ्गमा उनले ४ सिट समेत आउने अवस्था नभएपछि प्रचण्ड एमालेसँग मिलेको बताए। उनले माधव नेपाललाई पनि २२ सिट ल्याउने हुति नभएको भन्दै उनले एमालेबाट जितेकाहरुले अहिले फुर्ति देखाउने गरेको बताएका छन्।
‘प्रचण्डको ५४ सिट कहाँबाट आउँथ्यो। माधव नेपाल २२ सिट ल्याउने हुति भएका मानिस हुन्?’ उनले प्रश्न गर्दै भने, ‘अहिले ३ सिट ल्याएर देखाउनन्।’
पछिल्लो राजनीतिक समिकरण अघिल्लो निर्वाचनको परिणामका कारणले देखिएको भन्दै अब आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र त्यसपछि हुने अन्य निर्वाचनले परिस्थिति बेग्लै हुने ओलीको भनाइ छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij