२०८२ मंसिर ६ गते शनिवार
सुनसरीमा १५ हजार टन क्षमताको खाद्यान्न भण्डारण नेपाल वेयर हाउजिङ कम्पनीले सञ्चालनमा ल्याएको छ। आज देखि सो भण्डारण सञ्चालनमा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले बताए।
‘भण्डार सञ्चालनमा आउँदा हामी निकै खुशी छौं। किसान पनि उत्साहित छन्,’ उनले भने, ‘अब यहाँका किसानलाई सहज हुन्छ।’
उनका अनुसार भण्डार गृह ५-५ हजार मेट्रिक टन क्षमताको तीन वटा साइलोको (फलामले बनाइएको गोदाम) छ। कम्पनीले साइलो चाइनाको फ्यान्सन इञ्जिनियरिङ कम्पनीबाट ल्याएको हो।
कात्तिकको अन्त्यतिरै निर्माण काम सकिसकेको थियो। चिनियाँ इञ्जिनियरबाट साइलोको नट बोल्ट कस्ने, सफा गर्ने लगायत परीक्षणको काम भएकाले सञ्चालनमा आउन सकिरहेको थिएन।
उत्पादनले बजार पाउने निश्चित भएपछि मात्रै किसानहरू खेतीमा आकर्षित हुने भएकाले भण्डार निर्माण परियोजना सुरू गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत खनालले बताए।
व्यवस्थित भण्डार नहुँदा किसानहरूले मौसमी उत्पादन तत्काल बेच्नुपर्ने बाध्यता छ। यही कारण उनीहरूले चाहेको मूल्यमा बिक्री गर्न पाउँदैनन्। यो भण्डार अन्यभन्दा फरक छ। भण्डारण गर्दा किसानले प्रतिकिलो प्रतिमहिना पचास पैसा शुल्क बुझाउनु पर्नेछ।
उक्त शुल्क तिर्ने समय भने किसान र कम्पनीको समझदारीमा तय गरिनेछ।गोदाममा राखेको सामानको आधारमा किसानलाई ऋण दिन नेपाल राष्ट्र बैंकले अन्य वित्तीय क्षेत्रलाई निर्देशन दिए सहज हुने उनी बताउँछन्।
सुरूमा मकै, गहुँ र भटमास मात्र भण्डार गरियता पनि आगामी दिनमा अन्य खाद्यान्नका लागि पनि भण्डार थप्दै जाने कम्पनीको योजना छ। यो परियोजना यहाँ नयाँ भएकाले सरकारले पनि यसको प्रवर्द्धन गर्ने खालको नीति लिनुपर्ने उनले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij