२०८२ भाद्र ५ गते बिहिवार
भारतले नेपाललाई कोरोनाविरुद्धको खोप अनुदानमा पनि दिने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको तीन दिने भारत भ्रमणका बेला नेपाली पक्षले कोरोनाविरुद्धको खोप खरीदको प्रस्ताव भारतसमक्ष गर्नेछन् ।
साथै यही समयमा भारतले आफ्नोतर्फबाट केही खोप अनुदानमा पनि नेपाललाई दिने गरी सम्झौता गर्ने तयारी गरेको ती अधिकारीले बताए ।
तर उनका अनुसार अनुदानमा दिने खोप सीमा विवादका कारण पछिल्लो पटक चिसिएको दुई देशको सम्बन्ध सुधारको रणनीति मात्रै हो । त्यसबारे समन्वय गर्ने उद्देश्यसहित पराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण टोलीमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालसमेत सामेल भएका छन् ।
प्रधनमन्त्री केपी शर्मा ओली र विभागीय मन्त्री हृदयस त्रिपाठीले यसअघि नै नेपालमा छिट्टै कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले भारतले अनुदानमा पनि खोप दिन लागेको संकेत गरे ।
नयाँ दिल्ली प्रस्थान गर्नु भन्दा केहीबेर अघि उनले भने, ‘भ्रमणका बेला नेपाल भारतका सबै आयामहरुबारे हामी केन्द्रीत हुनेछौँ। हामीले खोपको विषयमा छलफल गर्नेछौँ। त्यसमा खरीद र अनुदान दुवै विषय पर्न सक्छन् ।’
सीमा विवाद निरुपण पनि प्राथमिकतामा पार्ने दाबी
एक वर्ष यता नेपाल र भारतबीच सीमा विवाद चुलिएको छ। तर यसको निरुपणमा भारतले कुनै ठोस प्रतिक्रिया जनाएको छैन। बरु नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर जारी गरेको नयाँ नक्साप्रति उसले आपत्ति जनाउँदै आएको छ।
प्रधानमन्त्री ओलीले सुस्तालगायत सीमा विवादबारे पनि संवाद हुनुपर्ने धारणा हालै भारतीय टिभी जीन्यूजको अन्तर्वार्तामा राखेका छन्।
उनले मन्त्री ज्ञवालीको भारत भ्रमणका बेला नेपाल पक्षले सीमा विवाद निरुपणका लागि पनि संंवाद अघि बढाउनक भारतीय पक्षलाई प्रस्ताव गर्ने हालै राष्ट्रियसभालाई सम्बोधन गर्नेक्रममा जानकारी गराएका थिए।
मन्त्री ज्ञवालीको भारत भ्रमण टोलीमा सामेल हुनुभन्दा केहीबेरअघि परराष्ट्रसचिव भरत पौडेलले पनि आफूहरुको यसपालीको भ्रमणमा सीमा विवाद प्राथमिकतामा पर्ने जानकारी दिएका छन्।
उनले भनेका छन्, ‘हामी नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त अयोगको छैठौँ बैठकमा भाग लिन जान लागेको हो। यो बैठकमा सीमालगायत नेपाल भारतबीचका सरोकारका दर्जनभन्दा बढी विषयमा छलफल हुनेछ ।’
नेपाल–भारतबीच सीमा विवादसँगै ईपीजी, व्यापार, ऊर्जा, कनेक्टिभिटी, स्वास्थ्य लगायत विषयमाथि दुई दर्जनभन्दा द्विपक्षीय संयन्त्रहरुमा हालसम्म भएका छलफल र सहमतिको यो बैठकमा समीक्षा हुने पौडेलले बताए ।
भ्रमणका क्रममा मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्चपदस्थ अधिकारीहरुसँग पनि छलफल गर्ने तयारी भएको भारतस्थित नेपाली दूतावासका एक अधिकारीले बताए ।
तर यसबारे हालसम्म दुवै पक्षले कुनै सूचना सार्वजनिक गरेका छैनन् । यी भेटहरुमा नेपालमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने अनुमान गरिएको छ ।
संसद विघटनमा भारतको पनि हात रहेको प्रश्नहरु नेपालमा उठाइएका बेला मन्त्री ज्ञवालीले भारतका उच्च अधिकारीहरुसँग भेटघाट गर्न लागेका हुन् ।
संसद विघटनसँगै ओलीसँग अलग भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मात्रै ‘संसद विघटन र नेकपा विभाजनमा भारतको हात छ ?’ भन्ने प्रश्न गर्दै यसबारे जवाफ दिन ओलीलाई सार्वजनिक रुपमा आग्रह गरेका थिए ।
उनले भनको थिए, ‘विदेशी शक्ति आएर ओलीलाई मन्त्र सुनाए। र ओलीले त्यो मन्त्रअनुसार काम गरेको देखिन्छ। भारतीय जासुसी संस्थाका प्रमुखसँग तीन घण्टा एक्लै बालुवाटारमा ओलीले के छलफल गरेरु जी न्यूजको अन्तर्वार्ता नाटक नै हो। सगरमाथाको नाम परिवर्तन गर्ने अभियान चलाउने पत्रकारलाई ओलीले अन्तर्वार्ता लिन बोलाउनुको उद्देश्य के होरु यसबारे स्पष्ट पार्न पर्छ कि पर्दैनरु’
भ्रमणको केही घण्टा अघि मात्रै सूचना सार्वजनिक
मन्त्री ज्ञवाली नयाँ दिल्ली प्रस्थान गर्नुभन्दा केही घण्टाअघि बिहीबार बिहान मात्रै भारतको विदेश मन्त्रालयले त्यसबारे सूचना सार्वजनिक गरेको छ । यसअघि मन्त्री ज्ञवालीको भारत भ्रमणबारे नेपालमा व्यापक चर्चा भएपनि त्यस मामिलामा भारतीय उच्च अधिकारीहरु मौन थिए ।
दिल्लीस्थित नेपाली दूतावासका ती अधिकारीका अनुसार बिहीबार ज्ञवालीले दिल्लीमा रहेका प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्ने छन् ।
भारतीय विदेश मन्त्रालयका अनुसार शुक्रबार बिहान एघार बजे ज्ञवालीले आफ्ना समकक्षी एस जयशंकरसँग हैदरावाद हाउसमा भेटगर्ने कार्यक्रम छ। सोही भवनमा साढे एघार बजे नेपाल–भारत संयुक्त अयोगको छैठौँ बैठक सुरु हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij