२०८२ मंसिर ६ गते शनिवार
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको चुनावी घोषणा पत्र/प्रतिज्ञा पत्रमा भ्युटावर बनाउँदैनौं भनेर लेख्नुपर्ने बताएका छन्।
कोइरालाले पहाडमा भ्युटावर र तराईमा गेट बनाउने प्रवृत्ति रहेकोले त्यसतर्फ बजेट खर्च गर्न नहुने बताए।
आज तनहुँको बन्दिपुरस्थित सिमलटारमा खानेपानी आयोजना उद्घाटन गर्दै नेता कोइरालाले गाउँमा खानेपानी समस्या रहिरहने तर पहाडमा भ्युटावर बनाउन बजेट खर्च गर्नु राम्रो नभएको बताए।
‘गाउँमा खानेपानी सुविधा छैन। बजेट भने भ्युटावर र गेट बनाउनमा खर्च भइरहेका छन्,’ कोइरालाले भने, ‘हामी भ्युटावर बनाउँदैनौं भनेर चुनावी घोषणा पत्र/प्रतिज्ञा पत्रमा उल्लेख गर्नुहोस्।’
उनले भ्युटावरको सट्टा अस्पताल र स्कुललगायत संरचना बनाउन पनि आग्रह गरेका छन्।
उनले फरक प्रसंगमा शिक्षा र स्वास्थ्य राम्रो बनाउन लाग्नुपर्नेमा जोड दिए। कोइरालाले आफ्ना हजुरबुवा कृष्णप्रसाद कोइरालाका कुरा निकाल्दै भने, ‘मेरा हजुरबुवा कृष्णप्रसाद कोइरालाको थोत्रा बक्सा थियो। त्यसभित्र पैसा हुँदैनथ्यो। त्यहाँ तिमी इच्छा गर म पुर्याउँछु भन्ने लेखिएको थियो। शिक्षा र स्वास्थ्यको इच्छा तपाईंहरू गर्नुस्, म पुर्याउँछु धन्यबाद।’
उनले अहिले सिमलटारमा वडा र गाउँपालिका पनि कांग्रेसका जनप्रतिनिधि नरहेको भन्दै यसपालि भने चुनावका लागि तयार रहनुपर्ने बताए।
तर कसरी चुनावी तालमेल गर्ने भन्नेबारे पार्टी नेताहरूले बैठक गरेर निर्णय लिने उनले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij