२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल राखेका तीन वटा प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन्।
प्रचण्ड–नेपाल हिजो साँझ देउवा निवास बुढानीलकण्ठ पुगेर प्रतिनिधिसभा पुनःस्थापनालाई प्रमुख राजनीतिक एजेन्डा बनाउन, संयुक्त संघर्ष गर्न र दीर्घकालीन राजनीतिक सहमतिका साथ अघि बढ्न गरेको प्रस्तावलाई सभापति देउवाले अस्वीकार गरेका हुन् । प्रचण्ड–नेपालका तर्फबाट तीन प्रस्ताव राखिएको र सभापति देउवाले अस्वीकार गरेको कांग्रेस नेता रमेश लेखकले बताए ।
’प्रचण्ड र माधवकुमार नेपालले बुधबार साँझ सभापति देउवालाई भेटेर तीन वटा प्रस्ताव गर्नु भएको थियो’, भेटमा सहभागी नेता लेखकले भने, "सभापतिले प्रधानमन्त्रीको कदमलाई कांग्रेसले अलोकतान्त्रिक भनिसकेको र सर्वोच्च अदालतले गर्ने फैसलापछि कसरी जाने भन्ने विषयमा कांग्रेसले नीति तय गर्ने जानकारी गराउनुभयो । प्रचण्ड–नेपालले राख्नु भएका तीन वटै प्रस्ताव उहाँले अस्वीकार गर्नुभयो ।"
सभापति देउवा कानुनी रुपमा नेकपा विभाजित नभसकेको अवस्थामा कुनै पनि गुटलाई सहयोग गर्ने पक्षमा नरहेको उनले बताए ।
भेटमा देउवाले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध कांग्रेस एक्लै आन्दोलनमा जाने बताएका थिए । "पुनःस्थापना वा चुनाव के हुन्छ त्यसपछिको परिस्थितिका विषयमा पार्टीभित्र छलफल गरेर निर्णय लिने सभापतिले जानकारी गराउनु भएको छ," लेखकले भने ।
नेता लेखकले बुधबार साँझ ६ बजेबाट दुवै पक्षबीच ४५ मिनेट कुराकानी भएको बताए। उनले प्रचण्ड–नेपालकै पहलमा बुधबारको भेट भएको दावी गरे । ‘प्रचण्ड–नेपालले पहिलेदेखि नै सभापति देउवालाई भेट्न खोज्नु भएको थियो, उहाँहरुकै पहलमा बुधबार साँझ भेट भएको हो ।’
देउवा निकट श्रोतका अनुसार कुनै पनि हालतमा संसद पुनःस्थापना हुनै सक्दैन र कांग्रेसले उक्त बिषयलाई खासै महत्व दिएको पनि छैन । कांग्रेस चुनाबमा जान आन्तरिक तयारीमा होमिएको छ । विभाजित नेकपाको माधब प्रचण्ड समूह भन्दा पनि देउवा ओली संग नजिक हुन चाहेको श्रोतको भनाई छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij