२०८२ मंसिर ६ गते शनिवार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आउँदो आर्थिक वर्षमा ठूलो परिमाणमा बजेट गुमाउने भएको छ । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि मन्त्रालयले १५ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ बराबरको मात्रै बजेट पाउने भएको हो ।
राष्ट्रिय योजना आयोगले अधिकतम १५ अर्बको सिलिङ तोक्दै सोहीबमोजिम नीति तथा कार्यक्रम बनाउन मन्त्रालयलाई भनेको छ । जुन चालु आर्थिक वर्षमा मन्त्रालयले पाएको बजेट भन्दा ३९.७३ प्रतिशत कम हो ।चालु आर्थिक वर्षका लागि मन्त्रालयले कुल २६ अर्ब १० करोड ७ लाख रुपैयाँ बजेट पाएको छ ।
जसमध्ये ३ अर्ब ६९ करोड ४३ लाख रुपैयाँ चालुतर्फ, १ अर्ब ८९ करोड ४९ लाख रुपैयाँ पूँजीगततर्फ र अधिकतम २० अर्ब ५१ करोड १५ लाख रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ पाएको छ । तर, मन्त्रालयले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष १० अर्ब रुपैयाँ कम बजेट पाउने भएको हो ।
जसले गर्दा यतिखेर विभागीय मन्त्री प्रेम आले तनावमा परेका छन् ।चालु आर्थिक वर्षको भन्दा पनि कम बजेट आफ्नो मन्त्रालयले पाउने भएपछि यतिखेर मन्त्री आले बजेट बढाउने लबिङमा लागेका छन् ।
गठबन्धन सरकार भएकै बेला आफ्नो मन्त्रालयको बजेट ठूलो परिणामले कटौती हुने भएपछि मन्त्री आलेले अहिले अर्थमन्त्री, योजना आयोग हुँदै प्रधानमन्त्रीसम्म बजेट बढाइदिन लबिङ गरिरहेको स्रोतले बतायो ।
‘एकैपटक १० अर्ब रुपैयाँ माथिले मन्त्रालयको बजेट घट्ने भएपछि मन्त्रीज्यू तनावमा हुनुहुन्छ । कम बजेटले के कार्यक्रम समेट्ने र के कार्यक्रम नसमेट्ने भन्नेमा नै अलमलमा परिएको छ । यति बजेटले के गर्ने ? जसरी पनि म बजेट बढाउँछु,’ मन्त्रीले भनेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij