२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । दुई वर्षदेखि बन्द रहेको गोपी कृष्ण फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ। कोरोना महामारी सुरु भएसँगै बन्द भएको हल आवश्यक मापदण्ड अपनाउँदै शुक्रबारदेखि फेरि सञ्चालनमा आउने भएको निर्देशक निरक पौडेलले बताएका हुन्।
कोरोनाका कारण सबै फिल्म हल बन्द भएपछि गौरवशाली इतिहास बोकेको गोपी कृष्ण हल पनि बन्द भएको थियो। लामो समयसम्म पनि हल खुल्ने संकेत नदेखिएपछि यसका सञ्चालक ७ वटा पर्दा रहेको हल भत्काएर गोपी कृष्ण सेन्ट्रल कम्प्लेक्स बनाउने तयारीमा थिए। दर्शक हलसम्म आउने र बन्द रहेको थाहा पाएर फर्कने गरेको भन्दै शुक्रबारबाट तीन वटा पर्दामा फिल्म देखाइने निर्देशक पौडेलले बताएका हुन्।
गोपी कृष्ण सेन्ट्रल कम्प्लेक्स निर्माणको काम पनि जारी राख्दै शुक्रबारदेखि ओम, नम र शिवाय हलमा नियमित रूपमा फिल्म प्रदर्शन गरिने बिहीबार सार्वजनिक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। यतिबेला प्रदर्शनरत रहेका 'चिसो एष्ट्रे', 'द कश्मिर फाइल्स' र शुक्रबारदेखि नै प्रदर्शनमा आउन लागेको 'आरआरआर' प्रदर्शन गर्दै हल औपचारिक रूपमा सञ्चालनमा आउने बताइएको छ।
पहिलेका भौतिक पूर्वाधार तथा सेवा सुविधालाई सुधार गर्दै फिल्मको टिकट दर ३ सय राखिएकाे छ। शुक्रबारदेखि हरेक दिन बिहान ८ देखि राति ८ बजेसम्म १२ वटा सो सञ्चालन हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij