Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

विदेशबाट फर्किएर कृषि कर्ममा रमाउँदै

विदेशबाट फर्किएर कृषि कर्ममा रमाउँदै


  • 3.1K
    Shares

    विदेशबाट फर्किएर कृषि कर्ममा रमाउँदै
    images

    म्याग्दी । आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले ९ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ४७ वर्षीय चन्द्रबहादुर घिमिरेले अहिले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएका छन् ।

    घिमिरेले अहिले पाँचवटा हाइटेक प्रविधिको टनेलमा मौसमी र बेमौसमी तरकारी खेती गरिरहेका छन् । काउली, बन्दा, मटरकोसा, गोलभेँडा, मूला, साग, धनियाँदेखि लिएर काँक्रा र तीतेकरेला जस्ता बेमौसमी तरकारीबाट घिमिरेले एक याममा ४ लाखभन्दा बढी कमाई गर्दै आएको बताए ।

    ‘विदेशबाट फर्किएको ९ वर्ष भयो । त्यो अवधिमा विदेशभन्दा तीन गुणा बढी कमाउन सफल भए’, उनले भने, ‘आफ्नो परिवारसँगै बसेर आफ्नै माटोमा रमाउनुको मज्जा नै बेग्लै हुँदोरहेछ ।’

    गाउँमै तीन लाख लगानी गरेर रोहोटे नमूना कृषि फार्म सञ्चालन गरेको घिमिरेले बताए । ‘आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ र काउली, बन्दा, आलु, गोलभेँडा, साग, मौसमी तरकारी र बेमौसमी तरकारीको उत्पादन गरेर बिक्री गर्ने गरेको छु, बजारका लागि टाढा जानै पर्दैन’, उनले भने ।

    त्यसैगरी रोहोटेकै हरिलाल घिमिरेले तरकारीसँगै लोकल बाख्रा, कुखुरा र माछापालन गरेका छन् । १० रोपनी जग्गामा श्रीमती र छोराको सहयोगमा सबै काम गर्न सफल भएको घिमिरेले बताए । तरकारीसँगै उनले गाउँमा धान, गहुँ, मकै, कोदोआदि पनि रोप्ने गरेका छन् ।

    उनले भने, ‘१४ वर्ष दुबई र कतारको मरुभूमिमा दुःख गरेँ, तर जीवनमा हरियाली छाउन सकेन, आफ्नै गाउँ फर्केर आफ्नै माटोमा गरेको परिश्रमले बल्ल जीवनमा हरियाली ल्याउन सफल भएँ ।’

    अहिले मानिसहरूले धेरै दुःख गर्न छाडेका कारणले गाउँमै आफूले उत्पादन गरेको तरकारी बिक्री हुने गरेको घिमिरेको भनाइ छ । आफ्नो गाउँ ठाउँमा कृषि गर्नका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनले बताए ।

    गत वर्ष हाइटेक टनेलका लागि पालिकाबाट आधा पैसा तिरेर टनेल बनाएको, त्यसबाहेक अन्य सहयोग स्थानीय सरकारले नगरेको घिमिरेको गुनासो छ । स्वदेशमै केही गर्न चाहने मानिसहरूका लागि स्थानीय सरकारले प्राथमिकतामा राखेर सहयोग र तालिमको व्यवस्था गर्नुपर्ने किसानको उनीहरूकाे भनाइ छ ।

    साथै, १७ वर्ष भारतीय सेनामा काम गरी सेवा निवृत्त भएका बेनी नगरपालिका-२ फापरखेतका नवीन घिमिरेले सुरु गरेको कालिजपालन यस क्षेत्रकै रहर लाग्दो व्यवसाय बनेको छ । रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यावसायिकरूपमा कालिजपालन सुरु गरेका घिमिरेले एक वर्षको अवधिमा राम्रो आम्दानी गर्नुका साथै, नयाँ व्यवसाय गरेर उदाहरणीय व्यक्ति बनेका छन् ।

    २१ लाख लगानीबाट कालिजपालन सुरु गरेका घिमिरेका फर्ममा अहिले २०० कालिज हुर्कंदै छन् भने यस अवधिमा उनले ६ सय वटा कालिज बिक्री गरिसकेको जानकारी दिए । लामो अध्ययनपछि उनले फापरखेतमा कालिज पाल्ने सोच बनाएको बताए ।

    ‘भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिजपालन गरेको देखेर म लोभिएको थिएँ’, घिमिरेले भने, ‘पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आए, यहाँ आउँदा नेपाल सरकारले कालिजपालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिजपालन व्यवसाय सुरु गरेको हुँ ।’

    म्याग्दीमा २०० भन्दा बढी युवा विदेशबाट फर्केर व्यवसायिक कृषिमा लागेको स्थानीय तहका कृषि शाखाले जनाएका छन् । ‘युवामा बल्ल व्यवसायिक कृषिका बारेमा नयाँ सोच आउँदैछ, नयाँ योजनामा युवा किसान लागेका छन्, परिणाम आउन भने केही समय कुर्नैपर्छ’, मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले भने । 

    प्रकाशित मिति :चैत्र ६ २०७८ आइतवार - ०७:२९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij