२०८२ भाद्र ५ गते बिहिवार
पढ्ने इच्छा भएका तर आर्थिक अभावबाट बञ्चित छोरीहरुलाई लक्षित गरेर तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम लागू गरेको छ । दलित, जनजाती, अल्पसंख्यक तथा अन्य समुदायका आर्थिक अवस्थामा कमजोर रहेका छात्रालाई केन्द्रित गरेर आधारभूत तहदेखि माध्यमिक तहसम्म पठनपाठनका लागि छोरी शिक्षा कार्यक्रम लागू गरेको हो ।
चालु आर्थिक वर्षबाट सुरु भएको कार्यक्रमा कक्षा ८ मा ७० जना, कक्षा ९ मा ७० जना र कक्षा १० मा ७० जना गरी २ सय १० जना छात्रालाई तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रममा समावेश गरेको छ । तानसेन नगरपालिकाले १४ वटा वडाबाट पाँच /पाँच जनाका दरले छोरी शिक्षा छात्रवृत्तीका लागि सहयोग गर्दै आएको छ ।
प्रत्येक वडा वडाबाट जनजाती २ जना, २ जना दलित र अन्य १ जना गरी ५ जना छात्राहरु छात्रवृत्ती कार्यक्रममा समावेश भएका छन् । तानसेन नगरपालिकाले छोरी शिक्षा छात्रवृत्तिमा सहभागी प्रत्येक छात्रालाई अध्ययन तथा शैक्षिक सामग्रीका लागि मासिकरुपमा एक हजार रुपैयाँ सहयोग दिँदै आएको छ ।
तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रममा छनौट भएका छात्रालाई ६ महिनाको ६ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको हो। तानसेन नगरपालिकाले छोरीको सम्मानमा, संविधानले प्रदान गरेको अधिकार सुनिश्चित गर्न छोरीको शिक्षा, रोजागार सभ्य समाज निर्माणको लागि तानसेन नगरपालिकाले दिर्घकालीन सोचका साथ छोरी शिक्षा कार्यक्रम लागू गरेको नगर प्रमुख अशोक कुमार शाहीले बताए ।
तानसेन नगरपालिकाले दिएको छात्रवृत्ती रकमले आफूमा पढाइप्रति थप हौसल्ला बढेको विधार्थी इच्छा गैरेले बताइन्। आफूले आर्थिक अभाव तथा सामाजिक रुढीवादीका कारण पढ्न नपाएकोमा पछुतो भएपनि छोराछोरीलाई भने राम्रोसँग पढाउने इच्छा रहेको तानसेन दमकडाकी वविता परियारले बताइन ।
'तानसेन नगरपालिकको छोरी शिक्षा कार्यक्रमले आफूलाई आत्मबल बढाएको भन्दै परियारले छोरीलाई स्नाकोत्तर तहसम्म पढाएर समाज परिवर्तनमा लगाउने बताइन्। तानसेन नगरपालिकाले लागू गरेको छोरी शिक्षा कार्यक्रमले आर्थिक अभावका कारण पढाइ छोड्ने विद्यार्थीको संख्या न्यून हुने विश्वास नगरपालिकाले लिएको छ।
दलित जनजातीमा शिक्षित महिलाको संख्या बढ्दै जाने र उनीहरु पनि अन्य जातजातीका महिलासरह सक्षम भई समाज रुपान्तरणको महत्वपूर्ण हिस्सा बन्ने स्थानीयले विश्वास लिएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij