Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

होलीको दिन काठमाडौंमा ट्राफिक व्यवस्थापनमा कडाइ, यस्ता छन् प्रहरीको योजना

होलीको दिन काठमाडौंमा ट्राफिक व्यवस्थापनमा कडाइ, यस्ता छन् प्रहरीको योजना


  • 2.7K
    Shares

    होलीको दिन काठमाडौंमा ट्राफिक व्यवस्थापनमा कडाइ, यस्ता छन् प्रहरीको योजना
    images

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकाको तीनै जिल्लामा १३०० भन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको छ ।

    होली मनाउँदा सवारीनियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गर्ने भएको हो ।

    होलीको पूर्वसन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले सबै ट्राफिक इकाइ तथा इन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीहरूलाई आज बुधबार ब्रिफिङ समेत गरेका छन् ।

    ‘फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौतीहरू तथा खतराहरूलाई यथार्थपरक विश्लेषण र मूल्याङ्कन गरेर प्रविधि उपकरणहरुको समुचित उपयोग गर्नेगरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ’, एसएसपी उमेशराज जोशीले भने, ‘बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २ वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारीसाधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिनेछ ।’

    उच्छ्रिङ्खल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादकपदार्थ सेवन गरी मोटरसाइकल हुइँक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीन जनाभन्दा बढी सवार गरी चलाउने, सवारीसाधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ्गलोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाइ गरी सवारी चलाउने, सवारीचालक अनुमतिपत्र नभएकाहरूले सवारीसाधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्नेगरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ ।

    महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाईका साथ सुरु गर्ने भएको छ ।

    फागु पूर्णिमा (होली)को शुभकामना सहित दुर्घटनारहित व्यवस्थित, मर्यादित र सुरक्षित पर्वको रूपमा मनाउन सम्पूर्ण महानुभावहरूलाई ट्राफिक महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

     

    प्रकाशित मिति :चैत्र २ २०७८ बुधवार - १५:४५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij