२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । विश्व बजारमा कच्चा तेलको मूल्यमा बितेको एक साताको अवधिमा ३० प्रतिशतले गिरावट आएको छ।
रुसले युक्रेनमा आक्रमण सुरु गरेयता विश्व बजारमा तेलको मूल्य नाटकीय रुपमा वृद्धि भएको थियो । एक साताको अवधिमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १३९ डलरभन्दा बढी पुगेको थियो ।
व्यापारीहरुले रुसी तेललाई प्रतिबन्ध लगाएका कारण तेलको मूल्य प्रतिब्यारेल १८५ हुँदै २०० डलरसम्म पुग्न सक्ने विश्लेषकहरुले चेतावनी दिएका थिए । यसले मुद्रास्फीति दर बढ्नुका साथै विश्व अर्थतन्त्रमा संकुचन पैदा गर्ने अनुमान गरिएको थियो ।
यसबीच साउदी अरब र युनाइटेड अरब इमिरेट्स (यूएई) ले तेलको उत्पादन बढाउन सक्ने आशाले केही राहात दिएको छ । जसका कारण ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १०० डलरमा झरेको छ । एक साताको अवधिमा मूल्यमा ३० प्रतिशतले गिरावट आएको हो ।
यस्तै चीनमा नयाँ कोरोना भाइरसका कारण मुख्य सहरहरुमा प्रतिबन्ध लगाइएका कारण तेलको मागमा कमी आउने भएकाले बजारमा दबाब कम पर्ने जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij