२०८२ भाद्र २ गते सोमवार
संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र त्यहाँका मानव संशाधनमन्त्री डा अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मंगलबार भेटवार्ता भएको छ। यूएईको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच दुई देशको आपसी सम्बन्ध र यूएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ।
यूएईमा रहेका नेपालीलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये पाँचवटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया पूर्णतः निःशुल्क गर्ने गरी ‘पाइलट प्रोजेक्ट’ अघि बढाउन पनि यूएई सहमत भएको मन्त्रालयले जनाएको छ।
श्रममन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै यूएई सरकारको प्रसंशा गरे। भेटवार्तामा उनीहरूबीच रोजगारीको प्रलोभनमा भिजिट भिसामा यूएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको छ।
रोजगारीको प्रलोभन देखाई भिजिट भिसामा यूएई ल्याउने व्यक्ति तथा संस्थालाई कारबाहीको दायरामा ल्याउन यूएई सरकारले सहयोग गर्ने बताइएको छ। भेटमा मन्त्री अवारले यूएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा पनि यूएई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। उनीहरूबीच यूएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमा, पारिश्रमिक वृद्धिलगायत विषयमा पनि छलफल भएको छ।
लामो समयदेखि कार्यरत घरेलु महिला श्रमिकलाई पुनः श्रम स्वीकृति खुला गर्ने नेपाल सरकारको निर्णयले यूएईमा रहेका घरेलु महिला श्रमिक लाभान्वित हुने मन्त्री अवारले बताए।
भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल थिए। यूएईका तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयका सचिव अब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अब्दल्लाह अल्सामीलगायत सहभागी थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij