२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा ताला लगाइएको छ । निर्वाचन कमिटीलाई जिम्मा दिएको अवस्थामा संघका कार्यवाहक अध्यक्ष कमल तामाङले नियमविपरीत संघको चुनाव स्थगित गरेकोलगायत माग राखेर प्रगतिशित वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले ताला लगाएको हो।
मञ्चले निविरोध भएकाहरूलाई निर्वाचित भएको घोषणा गर्नुपर्ने, डबल उम्मेदवारी रहेकाको हकमा सम्बन्धित संगठनले कारबाही गरे पनि स्वतः उम्मेदवार हुन नपाउने र त्यसपछि बाँकी रहेको उम्मेदवारलाई निर्विरोध विजयी घोषणा गर्नुपर्नेलगायत माग राखेको छ । सहमतिका नाममा व्यवसायीलाई बलिको बोको बनाउने कार्य भएकाले ताला लगाउनु पर्ने अवस्था सिर्जना भएको प्रथम उपाध्यक्षमा निविरोध भएका हरिबहादुर पाण्डे क्षत्रीले जानकारी दिए ।
‘संघ पार्टीगत संगठन होइन, यो व्यवसायिक संगठन हो, व्यवसायीको हक हितका लागि काम गर्नुपर्ने बेलामा सहमतिका नाममा केही व्यवसायीहरूलाई बलिको बोको बनाउने कार्य भयो,’ पाण्डेले भने । सर्वसम्मतिका लागि गठन गरेको समितिले छलफलमा बलाएको खण्डमा छलफल हुने र अन्यथा ताला नखुल्ने पाण्डेले बताए । अन्तिम उम्मेदवारी घोषणासमेत गरिसकेको निर्वाचन समितिलाई सिसिएमसीको वाहनामा यथास्थितिमा अगाडि बढाउने नभई बद्नीयतपूर्वक भंग गरेकाविरुद्ध, विधि र विधानसम्मत नेतृत्व स्थापित गर्न, व्यवसायिक एकता जोगाउन, संकटग्रस्थ अवस्थामा रहेको व्यवसायलाई सामूहिक नेतृत्व प्रदान गर्दा बहुपक्षीय हित हुने र संघको शक्ति सन्तुलन हुने यथार्थलाई मध्यनजर गरेर ताला लगाइएको बताइएको छ । प्रगतिशिल मञ्चका साथै केही नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका साथीहरूको पनि सहभागिता रहेको पाण्डेले बताए ।
सर्वसम्मत रूपमा नेतृत्व चयन हुन नसक्दा ३० पुसमा हुने भनिएको संघको चुनाव स्थगित गरिएको थियो । कोभिडका कारण सरकारले २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने निर्णय गरेको तथा सर्वसम्मतिका लागि भएको पहल सफल नभएकाले चुनावसहितको कार्यक्रम स्थगित गरिएको संघका कार्यवाहक अध्यक्ष तामाङले विज्ञप्ति जारी गरेर जानकारी गराएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij