Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने


  • 7.5K
    Shares

    आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

    काठमाडौं । वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् ।

    वैदेशिक रोजगारीमा रहेका नागरिकले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिएर पुनः श्रम स्वीकृति प्राप्त गर्न सक्ने विभागले जनाएको छ। यसबाट बिदामा नेपाल आएका वा विदेशमै रहेकाले लाभ लिन सक्नेछन् ।

    विभागको अनलाइन प्रणालीबाट आँखाको स्क्यान तथा औँठाछाप स्क्यान गरेर श्रम स्वीकृति लिएकाले अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सक्नेछन् । अनलाइनमार्फत पुनः श्रम स्वीकृतिका लागि विभागको वेवसाइट www.dpfe.gov.np को अनलाइन श्रम स्वीकृतिमा क्लिक गरी फारम भर्न सकिनेछ । फारम भरिसकेपछि कुन शाखाबाट पुनः श्रम स्वीकृति लिने हो त्यो छान्नुपर्छ ।

    विभागले विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीका साथै काठमाडौँको ताहचलबाट श्रम स्वीकृति प्रदान गर्दै आएको छ। श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन फिर्ता भएमा सोको कारणसहितको एसएमएस आवेदकको मोबाइल नम्बरमा जानेछ। विभागले फारम भर्दा सही मोबाइल नम्बर, इमेल उल्लेख गर्न आग्रह गरेको छ ।

    श्रम स्वीकृतिका लागि आवेदन गर्दाको ‘युजरनेम’ र ‘पासवर्ड’ सुरक्षित राख्न पनि विभागले अनुरोध गरेको छ। श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको इमेलमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ। आवेदक आफैँले आवश्यकतानुसार प्रिन्ट गरेर राख्न सक्ने विभागले जनाएको छ ।

    विभागले यसअघि नै म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी गर्ने व्यवस्था मिलाइसकेको छ । बीमा र कल्याणकारी कोषको रकम अनलाइनबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने विभागले जनाएको छ । अनलाइन सेवा प्राप्त गर्न कार्यालय उपस्थित भइरहनु नपर्ने हुँदा सेवाग्राहस्लाई थप सहज हुने विभागले विश्वास लिएको छ ।

    प्रकाशित मिति :पौष १७ २०७७ शुक्रवार - ११:२०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij