Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

सरकारी उदासिनताले रोल्पाको बडाचौर विमानस्थल बन्यो खेलमैदान  

सरकारी उदासिनताले रोल्पाको बडाचौर विमानस्थल बन्यो खेलमैदान  


  • 4.9K
    Shares

    सरकारी उदासिनताले रोल्पाको बडाचौर विमानस्थल बन्यो खेलमैदान  
    images

    रोल्पा । सम्बन्धित निकायको बेवास्ताका  कारण रोल्पाको बडाचौर विमानस्थल अलपत्र बनेको छ । संरक्षणमा सरकारी उदासिनताले विमानस्थल गौचरण र खेल मैदानका रूपमा परिणत भएको हो । 

    रोल्पाको लुङ्ग्री गाउँपालिका वडाचौरस्थित सो विमानस्थल राजनीतिक व्यवस्था फेरिएसँगै ओझेलमा परेको छ । वि.सं २०४६ सम्म सञ्चालनमा ल्याइएको सो विमानस्थल पछिल्लो समय ओझेलमा पर्दै गएको छ । 

    तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री बालाराम घर्तीमगरको पहलमा २०३६ सालदेखि सञ्चालनमा ल्याइएको सो विमानस्थलबाट काठमाडौँ, पोखराजस्ता शहरमा उडान हुने गर्दथ्यो । विसं २०४८ पछि उडान स्थगित भएको सो विमानस्थल २०५२ सालदेखि सुरु भएको सशस्त्रद्वन्द्वका बेला थप थला परेको स्थानीयवासीको भनाइ छ । 

    तत्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्वका बेला विमानस्थलमा भएका संरचना भत्काएपछि यो ओझलमा परेको स्थानीयवासी अम्मरबहादुर थापाले बताए । विमानस्थल पुनःसञ्चालनका लागि नेतृत्व गर्दै आएका थापाका अनुसार आफूहरूलाई दमन गर्न सेनाले हेलिकप्टर ल्याण्ड गर्न प्रयोग गर्ने त्रासमा माओवादीले विमान स्थलभर बङ्कर खनेका थिए । 

    रोल्पाको व्यापारिक नाका सुलिचौर बजारबाट करिब १० किलोमिटर दूरीमा रहेको सो विमानस्थललाई सरकारले बेवास्ता गर्दै आएको छ । विमानस्थल सञ्चालनका लागि पटक पटक सर्वदलीय र सर्वपक्षीयरुपमा सिंहदरबार पुगे पनि कसैले सुनेनन् स्थानीयवासी योगेन्द्र जिसीको भनाइ छ । 

    उनले भने, “मन्त्रीदेखि प्रधानमन्त्री र शक्तिमा रहेका सबै नेताले गर्छौं भन्छन् तर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।” पटकपटकको दबाबले सामान्य घेराबारको काम भए पनि अहिलेसम्म सञ्चालनका लागि ठोस कार्य हुन नसकेको उनको गुनासो छ । 

    रोल्पाको ऐतिहासिक एकमात्र विमानस्थल खेलमैदान र गौचरणमा परिणत भएकोमा स्थानीयवासी चिन्तित छन् । गौचरण र खेलमैदानमा रुपान्तरण भएसँगै यसको अस्तित्व समाप्त हुने देखिन्छ स्थानीयवासी मिलन रोकाको भनाइ छ । “गाईबाख्रा चराउनुका साथै फुटबल खेलका लागि  विमानस्थल प्रयोग हुनु राम्रो होइन, यसको संरक्षणसँगै पुनःसञ्चालनमा जोड दिनुपर्छ”, उनले भने । 

    पर्यटकीय दृष्टीकोणले वडाचौर विमानस्थल महत्वपूर्ण मानिन्छ ।  वडाचौरबाट महत्वपूर्ण धार्मिकस्थल जलजला, स्वर्गद्वारी र ढोरपाटन पर्यटकीय क्षेत्र नजिकको दूरीमा पर्दछन् । रोल्पाको युद्धपर्यटन प्रवद्र्धनमा समेत वडाचौर विमानस्थलले सहयोग गर्ने बताइन्छ ।

    हाल जलजला, स्वर्गद्वारी र ढोरपाटन पुग्ने पर्यटक गाडी तथा पैदलमार्गबाट पुग्ने गरेका छन् । अप्ठ्यारो सडकमार्गका कारण उनीहरु असहज यात्रा गर्न बाध्य हुने गरेका छन् । विमानस्थल सञ्चालनले रोल्पा, प्यूठान, ढोरपाटन क्षेत्र र रुकुमपूर्वका जनतालाई समेत सहज हुने स्थानीयवासीको भनाइ छ ।

    प्रकाशित मिति :मंसिर ४ २०७८ शनिवार - १३:१०:२६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij