Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

२२ दिनपछि आन्दोलनरत चार न्यायाधीशले हेर्न थाले सबै मुद्दा

२२ दिनपछि आन्दोलनरत चार न्यायाधीशले हेर्न थाले सबै मुद्दा


  • 3.2K
    Shares

    २२ दिनपछि आन्दोलनरत चार न्यायाधीशले  हेर्न थाले सबै  मुद्दा
    images

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ बहिष्कार गर्दै आएका केही न्यायाधीशले मंगलबार भने सबै प्रकारका मुद्दाको सुनुवाइ गरेका छन्।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज नौ वटा इजलासमा २७९ मुद्दाको पेसी तोकेका थिए। उनले आफू बाहेकका १६ न्यायाधीशको इजलासमा सबै प्रकारका मुद्दाको पेसी चढाएका थिए।

    मंगलबार केही न्यायाधीशले सबै मुद्दाको सुनुवाइ गरेका छन्। आज बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको पनि सुनुवाइ भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

    यसअघि प्रधानन्यायाधीशले मात्रै सबै प्रकारका मुद्दा हेरिरहेका थिए। अन्य न्यायाधीशले २२ दिनदेखि बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका थिएनन्। आज ३२ मुद्दामा फैसला भएको छ।

    न्यायाधीशहरू बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी र कुमार रेग्मीले सबै प्रकारका मुद्दाको सुनुवाइ गरेका छन्। न्यायाधीशद्वय श्रेष्ठ र शर्माको इजलासले चार वटा मुद्दामा फैसला सुनाएको छ। न्यायाधीशद्वय केसी र रेग्मीको इजलासले १४ वटा मुद्दाको फैसला गरेको छ।

    त्यस्तै, न्यायाधीशद्वय मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलास पनि बसेको सर्वोच्च अदालतको दैनिकी पेसी सूचीमा उल्लेख छ। उनीहरूको इजलासमा भने आज पाँच वटा मुद्दा स्थगन भएका छन् भने अन्य मुद्दा हेर्न समय नपुगेको उल्लेख छ।

    अन्य न्यायाधीशले भने आज पनि बेन्च बहिष्कार गरेका छन्। उनीहरूले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन्।

    नेपाल बार एसोसिएशनको अगुवाइमा आज पनि कानून व्यवसायीले सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन्। उनीहरूले बिहान १० बजेदेखि दुई घण्टा धर्ना दिएका हुन्। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानून व्यवसायीले आन्दोलन गर्दै आएका छन्।

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - १३:५०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij