Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा जुटे मुख्यमन्त्री राउत, एकीकृत समाजवादीका यी नेतालाई मन्त्री बनाउन जसपाका दुई मन्त्री बाहिरिदै!

मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा जुटे मुख्यमन्त्री राउत, एकीकृत समाजवादीका यी नेतालाई मन्त्री बनाउन जसपाका दुई मन्त्री बाहिरिदै!


  • 4.3K
    Shares

    मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा जुटे मुख्यमन्त्री राउत, एकीकृत समाजवादीका यी नेतालाई मन्त्री बनाउन जसपाका दुई मन्त्री बाहिरिदै!
    images

    काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा जुटेका छन् । नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनुपर्ने भएपछि मुख्यमन्त्री राउतले एक मन्त्री र एक राज्यमन्त्रीलाई राजीनामा गरेर सहयोग गर्न आग्रह गरेका छन् ।

    उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश यादव र अर्थराज्यमन्त्री उषा यादवलाई राजीनामा गर्न मुख्यमन्त्री राउतले आग्रह गरेका हुन् ।

    एकीकृत समाजवादीको आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेसँगै मुख्यमन्त्रीले दुई मन्त्रीलाई राजीनामा गरेर सहयोग गर्न आग्रह गरेका हुन् ।

    संघीय सरकारमा कृषिमन्त्री रहेका महेन्द्रराय यादवको कोटाबाट रामनरेश प्रदेशमा मन्त्री भएका थिए । त्यसैले पार्टीभित्र शक्ति समीकरण मिलाउन रामनरेशलाई फिर्ता बोलाउन लागिएको हो ।

    कोरोनाकालमा प्रदेशमा अति नै भ्रष्ट छवि बनाएका पर्यटनमन्त्री रामनरेशलाई हटाउन सजिलो रहेको समेत चर्चा हुने गरेको छ ।यता, अर्थराज्यमन्त्री उषा यादवलाई फिर्ता बोलाएर सो ठाउँमा जसपाका सांसद निरा साहलाई पठाउने तयारी भएको छ ।

    जसपा प्रतिनिधिसभाका सांसद प्रमोद साह संघीय सरकारमा मन्त्री हुने भनेर पार्टीले टुंगो लगाए पनि अन्तिम समयमा उनको नाममा टिपेक्स लागेको थियो । निरा उनै प्रमोदका पत्नी हुन् । संघीय सरकारको क्षतिपूर्ति स्वरुप प्रदेश सरकारमा निरालाई राज्यमन्त्री बनाउनुपर्ने माग हुँदै आएको छ ।

    जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराई, कार्यकारिणी समितिका सदस्यद्धय महेन्द्रराय यादव र राजकिशोर यादव लगायतका नेता प्रदेश सरकार पुनःगठनबारे निरन्तर छलफलमा छन् ।

    पाँच दलीय गठबन्धनको आन्तरिक सहमतिअनुसार प्रदेश २ सरकारमा एकीकृत समाजवादी सहभागी हुने निश्चित भएपछि दुई साताअघि जनकपुरधाममा जसपाका शीर्ष नेताको बैठक बसेको थियो । जुन बैठकमा विभिन्न तीन विकल्पमा छलफल गरिएको थियो ।

    छलफलमा मुख्यमन्त्रीसहित पार्टीबाट सरकारमा सहभागि सबैलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई मौका दिनेसम्मको प्रस्ताव आएको थियो । तर, पार्टीभित्र मुख्यमन्त्री कसलाई बनाउने भन्ने अर्को समस्या आउने भएकाले तत्कालका लागि एकीकृत समाजवादीलाई मात्रै सहभागी गराउन केही मन्त्रीलाई फिर्ता बोलाउने भद्र सहमति भएको थियो ।

    सोही सहमतिअनुसार मुख्यमन्त्रीले एक मन्त्री र एक राज्यमन्त्रीलाई राजीनामा गर्न आग्रह गरेको जसपा स्रोतले जनाएको छ ।

    मन्त्री रामनरेशले राजीनामा गरेमा एकीकृत समाजवादी प्रदेश २ संसदीय दलका नेता शत्रुधन महतोको नेतृत्वमा एकीकृत समाजवादी प्रदेश सरकारमा सहभागी हुनेछ ।

    सहमतिअनुसार समाजवादीले दुई मन्त्रालय पाउनेछ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय समाजवादीले पाउने पक्का जस्तै छ ।

    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दलका नेता महतो र अर्को मन्त्रालयमा सर्लाहीकी बेची लुंगेलीको नाम चर्चामा रहेको समाजवादीका केन्द्रीय सदस्य श्री प्रसाद साहले बताए ।

    मुख्यमन्त्री राउतले खाली रहेका दुई मन्त्रालय कानुन तथा प्रदेश मामिला मन्त्रालय र वाणिज्य आपूर्ति मन्त्रालय दिएर नेकपा समाजवादीलाई सरकारमा सहभागी गराउने प्रयास गरिरहेका थिए ।

    तर, समाजवादीले यो मन्त्रालयमा रुची नदेखाएपछि रामनरेशसँग राजीनामा मागिएको हो । अहिले प्रदेश २ सरकारमा जसपाको नेतृत्वमा नेपाली कांग्रेस र माओवादी केन्द्र मात्र सहभागी छन् ।

    यता, राजीनामा मागेपछि मन्त्री रामनरेशले असन्तुष्टि व्यक्त गरेका छन् । आफूनिकट नेताहरुसँग रामनरेशले दलीय गठबन्धनलाई पूर्णता दिन मुख्यमन्त्रीसहित सरकार पुनःगठन हुनुपर्ने सर्त राखेका छन् ।

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १६:५०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij