२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । नेपाल बार एसोसियसनको अगुवाइमा भएको सोमबारको आन्दोलनमा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध थप सशक्त आन्दोलन हुने बताएका छन् ।
आज आन्दोलनपछि सम्बोधन गर्दै अधिवक्ता रुद्रप्रसाद नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले भ्रष्टाचार र बिचौलियाको नेतृत्व गरेको आरोप लगाएका छन् ।
आज बारको आन्दोलनपछि सम्बोधन गर्दै अधिवक्ता नेपालले भने, ‘हाम्रो आन्दोलन बिचौलियाको नेताविरूद्वको हो, भ्रष्टाचार र बिचौलियाको नेतृत्व जबराले गरे र अदालतलाई गरिमामय बनाइराख्न हो । विज्ञप्तिको जवाफ यहीँबाट दिन्छौँ, तपाईसँग कुनै वार्ता हुँदैन ।’
त्यस्तै सर्वोच्च बारका पूर्वकोषाध्यक्ष परशुराम कोइरालाले आफूहरुले महाअभियोगभन्दा पनि राजीनामा माग गरेका बताए । साथै सर्वोच्च अदालतको गरिमा जोगाउनका लागि आन्दोलन गरेको बताए ।
‘केवल राजीनामा, राजीनामा, राजीनामा । त्योभन्दा माथिको महाअभियोग पनि होइन । तपाईंहरु इजलास हेर्नुस् म मुद्दा हेर्दिनँ पनि होइन, बीचको समाधान राजीनामा । राजीनामा दिएर आनन्दले घरमा बस्नुस् । हामीले सर्वोच्चको गरिमा हेरेर आन्दोलन गरेका हौँ ।’
सोही क्रममा वरिष्ठ अधिवक्ता उमेश गौतमले न्यायालयमा ठूलो न्यायिक विचलन आएको कारण आफूहरु आन्दोलनमा आएको दाबी गरे ।
‘गम्भीर न्यायिक विचलन आयो । बार आन्दोलन झन् सशक्त हुन्छ बाटो बिराउँदैनौँ, बटमलाइन राजीनामा’, वरिष्ठ अधिवक्ता गौतमले भने ।
त्यसैगरी वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले आफूहरुको आन्दोलनलाई कमजोर नठान्न आग्रह गरेका छन् । साथै आन्दोलनमा सहभागी नभए पनि धेरै कानुन व्यवसायीहरुको आन्दोलन प्रति ऐक्यबद्धता रहेको जिकिर गरे ।
‘प्रधानन्यायाधीशले भ्रम पाल्न भएन कि यहाँ उपस्थित नभएका बार आन्दोलनको पक्षमा छैनन् भन्ने होइन । हाम्रो भद्र अवज्ञा र शालीन आन्दोलनलाई कमजोर नठानियोस्’, उनले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij