Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

भट्टराई, किरण र विप्लव माओवादी केन्द्रमा फर्किनुहुन्छ : प्रचण्ड

भट्टराई, किरण र विप्लव माओवादी केन्द्रमा फर्किनुहुन्छ : प्रचण्ड


  • 6.2K
    Shares

    भट्टराई,  किरण र विप्लव माओवादी केन्द्रमा फर्किनुहुन्छ : प्रचण्ड
    images

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन्।

    शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेत्रविक्रम चन्द (विप्लव) माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका हुन्।

    उनले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरूसँग आफ्नो संवाद भइरहेको बताउँदै मोहन वैद्य किरण, डा. बाबुराम भट्टराईलगायत सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताए। अध्यक्ष दाहालले आराम गर्दै, रमाइलो मान्दै (रोमान्स) जस्तो गरेर माओवादी क्रान्तिलाई अघि बढाउन नसकिने बताउँदै समाजवादतर्फ इमान्दार हुने कम्युनिस्ट ढिलोचाँडो पुरानो घरमा फर्किएर आउने बताए।

    'ढिलोचाँडो विप्लवजी पनि आउनुहुन्छ। अलग बसेर नभई एकै ठाउँमा केन्द्रित भएर मात्रै नेपाली क्रान्तिलाई अझ मौलिक तरिकाले नयाँ अध्ययन अनुसन्धान गरेर अगाडि लान सकिन्छ। कुनै रोमान्स जस्तो गरेर लैजान सकिँदैन', उनले भने। प्रचण्डले अहिले कुराकानी चलिरहेको र किरण, बाबुराम, विप्लव तथा अरू समाजवादी आन्दोलनप्रति इमान्दार सबै कम्युनिस्ट एकताबद्ध हुने बताए।

    'हामीले धेरै ठूलो संघर्ष र बलिदानपछि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाललाई ल्याएका छौं। हामी जानु धेरै टाढासम्म छ। त्यो यात्रा हामी सबैले आपसमा हातेमालो गरेर मात्रै पार गर्न सकिन्छ। एक्लै पार गर्छु भन्यो भने त्यसको नियत जे सुकै भए पनि नियति क्षतविक्षत हुन्छ', उनले भने।

    कार्यक्रममा अध्यक्ष दाहालले एकै युग र एउटै कालखण्डमा धेरै प्रचण्ड हुन नसक्ने बताए। उनले एउटा समयमा जनता, आन्दोलन, समय र संघर्ष, सही विचार र बलिदानबाट मात्रै प्रचण्ड पैदा हुनसक्ने बताए। अध्यक्ष दाहालले कोही एक व्यक्तिको चाहनामा र लहर चल्दैमा क्रान्ति नहुने भन्दै प्रचण्ड नेपाली जनताले जन्माएको बताए। उनले प्रचण्ड व्यक्ति नभई सही विचार, बलिदान, संघर्षको प्रतीक भएको पनि बताए।

    प्रकाशित मिति :कार्तिक २६ २०७८ शुक्रवार - १५:२१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij