Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

२७ बैंकको कमाइ १८ अर्ब, कुन बैंकको कति?

२७ बैंकको कमाइ १८ अर्ब, कुन बैंकको कति?


  • 5.2K
    Shares

    २७ बैंकको कमाइ १८ अर्ब,  कुन बैंकको कति?

    काठमाडौं । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकहरूले नाफामा राम्रै फड्को मारेका छन्। सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २३ ले नाफा बढाउन सफल भए । बाँकी ४ ओटा बैंकको नाफा वृद्धिदर भने घटेको छ। यद्यपि गत आवमा १९ बैंकको नाफा वृद्धिदर घटेकोमा चालु आवको पहिलो त्रैमासमा भने झण्डै दुई दर्जन बैंक नाफामा छलाङ मार्न सफल भए ।   

    वाणिज्य बैंकहरूको आर्थिक वर्ष २०७८/७९को पहिलो त्रैमासमा नाफा वृद्धिदर औसत ३६ प्रतिशत बढेको छ। यद्यपि गत आवको सोही अवधिको तुलनामा भने कुल नाफा २४ प्रतिशतले बढेको हो। यसरी नाफा बढ्दा २७ वाणिज्य बैंकले १८ अर्ब ११ करोड ७३ लाख रुपैयाँ कमाएका छन्। गत आवको सोही अवधिमा बैंकको नाफा वृद्धिदर औसत २० दशमलव ५७ प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँले घटेको थियो। 

    nafa.jpg

    वाणिज्य बैंकमध्ये एनआईशी एसिया, नबिल, ग्लोवल आईएमई, राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकले १ अर्ब रुपैंयाँभन्दा बढी नाफा कमाउन सफल भएका छन्। यो अवधिसम्म सबैभन्दा बढी नाफा एनआईसी एशिया बैंकले कमाएको छ। उसले असोजसम्ममा १ अर्ब १८ करोड रुपैयाँ हाराहारीमा नाफा गर्न सफल भएको हो। गत वर्षको तुलनामा १६ प्रतिशतले बैंकको नाफा वृद्धि भएको छ। गत वर्षको सोही अवधिमा १ अर्ब २ करोड १० लाख रुपैंयाँ हाराहारीमा नाफा कमाएको थियो।

    कर्जा प्रवाह र निक्षेप संकलनमा आक्रामक भएर लागे अनुसार नाफा गर्न सफल भएको बैंकका नायव प्रमुख सुचना अधिकारी अर्जुनराज खनियाँले बताए। ठूला ऋणीभन्दा साना ऋणी बढि भएको र समयमै ब्याज तथा किस्ता तिरेकाले अहिले यत्तिको नाफा कमाउन सफल भएको उनको भनाइ छ। ‘बैंक व्यवसायको आकार बढेको छ। अधिकांश सुचकांकमा हामी अगाडि छौं। गुणस्तरीय कर्जा भएकाले ब्याज आम्दानी राम्रो छ,’ उनले भने ‘यसैले तेस्रो त्रैमासमा सबै बैंकभन्दा अधिक नाफा गर्न सफल भएका हौं। यद्यपि हामीसँग कर्मचारी पनि बढि हुँदा समग्रमा सञ्चालन खर्च धेरै नै छ। त्यही पनि नाफा राम्रै भयो।’ 

    यसैगरी, दोस्रो बढी नाफा गर्ने नबिल बैंकले १ अर्ब ११ करोड २२ लाख ३५ हजार रुपैयाँ कमाएको छ। बैंकले अघिल्लो आवको असोजसम्म १ अर्ब ३ करोड कमाएको थियो। यस आवमा बैंकको नाफा भने ७ प्रतिशत बढेको छ। यसैगरी, ग्लोवल आईएमई बैंकले १ अर्ब ११ करोड २२ लाख रुपैंयाँ हाराहारीमा नाफा गरेको छ। यसले गत वर्षको तुलनामा ५ प्रतिशत वृद्धि गरेको हो। यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ५ करोड र एनएमबी बैंकले १ अर्ब ४ करोड रुपैंयाँ हाराहारीमा नाफा गरेका छन्। गत वर्षको तुलनामा सो बैंकको क्रमश २७ प्रतिशत र ४२ प्रतिशतले बढी हो। 

    यसबाहेकका बैंकले १ अर्ब रुपैंयाँभन्दा कम नाफा कमाएका छन्। यसैक्रममा प्राइम बैंकले ९७ करोड, सिद्धार्थले ९४ करोड, नेपाल ईन्भेष्टमेन्टले ९२ करोड र मेगा बैंकले ९१ करोड रुपैंयाँ नाफा गरेका छन्। यसैगरी सरकारी स्वामित्वको नेपाल बैंकले ७५ करोड ४८ लाख बराबर नाफा गर्न सफल भयो।  

    यसैगरी सिटिजन्स ईन्टरनेशनलले ६८ करोड, प्रभुले ६३ करोड, एभरेष्टले ५७ करोड, सानिमाले ५६ करोड नाफा गरेका छन्। गत वर्षको तुलनामा ५२ प्रतिशत नाफा बढाउन सफल भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल बजारमा लगानी अभाव भए पनि असोजसम्मको नाफा गत वर्षको तुलनामा राम्रै भएको बताउँछन्।  

    सानिमा बैंकपछि बढी नाफा गर्नेमा माछापुछ«ेले ५६ करोड, लक्ष्मीले ५५ करोड, कुमारीले ५४ करोड, नेपाल क्रेडिट एण्ड कमर्शले ५१ करोड कमाएका छन्। यसबाहेकका कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन, सनराईज, नेपाल बंगलादेश, नेपाल एसबिआई, सिभिल, सञ्चुरी बैंक र बैंक अफ काठमान्डूले ५० करोडभन्दा कम नाफा गरे। 

    समग्रमा बैंकहरूको नाफा उत्साहजनक भए पनि ४ ओटा वाणिज्य बैंकको भने गत वर्षको तुलनामा वृद्धिदर घटेको छ। गत वर्ष ५७ करोड नाफा गरेको नेपाल बंगलादेश बैंकले यसपटक ४१ करोड मात्रै नाफा गर्‍यो। यसैगरी, गत वर्ष ८५ करोड रुपैयाँ नाफा गरेको प्रभु बैंकले अहिले ६३ करोड मात्रै कमाएको छ। २५ प्रतिशतले नाफा वृद्धि घट्नु कोभिडको असर भएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बताउँछन्। 

    प्रकाशित मिति :कार्तिक १६ २०७८ मंगलवार - ११:५४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij