Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

मेन्स्ट्रूअल कप के हो ? कसरी काम गर्छ र प्रयोग कसरी गर्ने ?

मेन्स्ट्रूअल कप के हो ? कसरी काम गर्छ र प्रयोग कसरी गर्ने ?


  • 7.8K
    Shares

    • images
    मेन्स्ट्रूअल कप के हो ? कसरी काम गर्छ र प्रयोग कसरी गर्ने ?
    images

    काठमाडौं ।  महिनावारीका बेला प्रयोग गरिने स्यानीटरी सामानहरूको पहिलोपटक बृहत् वैज्ञनिक समीक्षा गरेका अनुसन्धानकर्ताहरूले मेन्स्ट्रुअल कप पनि ट्याम्पून र प्याड जस्तै रगत नचुहिने भन्दै त्यसबारे महिलाहरू ढुक्क हुनसक्ने बताएका छन्।

    महिनावारीका क्रममा हुने रक्तस्रावलाई मेन्स्ट्रुअल कपले सोस्ने भन्दा पनि जम्मा गर्ने गर्छ। मेन्स्ट्रुअल कप योनिमा राखिन्छ र पुन: प्रयोग पनि गर्न सकिन्छ। जबकि ट्याम्पून भने पुन: प्रयोग गर्न मिल्दैन।

    मेन्स्ट्रुअल कप प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ तर त्यससम्बन्धी जनचेतनाचाहिँ महिलाबीच तुलनात्मक रुपमा कम भएको पाइएको छ।

    द ल्यान्सेट पब्लिक हेल्थ जर्नलमा प्रकाशित एउटा लेखले ४३ वटा अध्ययनलाई समेटेको छ जसमा गरिब र धनी देशका ३३ सय किशोरी र महिलालाई समावेश गरिएको छ।

    उनीहरूका साझा चासो भनेको मेन्सट्रुअल कप लगाउन र निकाल्न कठिन अनि पीडादायी हुने र रगत चुहिने भन्ने छ। तर उक्त अध्ययनमा जटिलता नगण्य भएको पाइएको बताइएको छ।

    १३ वटा अध्ययनको परिणामले मेन्स्ट्रुअल कपले कसरी काम गर्छ भन्ने विषयमा अभ्यस्त भएपछि ७० प्रतिशत महिलाहरूले त्यसकै प्रयोगलाई निरन्तरता दिन चाहेको देखाएको छ।

    तीनसय महिला सहभागी भएको चारवटा अध्ययनले मेन्स्ट्रुअल कप र ट्याम्पून्स, प्याडबीच चुहावटको तुलना गरेको थियो।

    तीनवटा अध्ययनले चुहावटको अवस्था उस्तै देखाएको थियो र एउटा अध्ययनले चाहिँ मेन्स्ट्रुअल कपबाट निकै कम भएको देखाएको थियो।

    कपले कसरी काम गर्छ ?

    मेन्स्ट्रुअल कप रबरजस्तै एकदमै नरम र लचिलो सामग्रीबाट बन्छ। योनिमा राखेपछि रगत बाहिर ननिस्कियोस भनेर त्यसले बिर्को बन्द गर्ने जस्तो (सिलबन्दीको) काम गर्छ।

    ट्याम्पून्स वा स्यानिटरी प्याडले भन्दा मेन्स्ट्रुअल कपले धेरै रगत जम्मा गर्छ। तर त्यसलाई निरन्तर खाली गर्दै जानुपर्छ र सफा गर्नुपर्छ।

    मेन्स्ट्रुअल कप दुई प्रकारका हुन्छन्। एउटा "भजाइना कप" जो योनिको तल बस्छ र घन्टी आकारको हुन्छ। अर्को चाहिँ "सर्भिकल कप" हो जो अलिमाथि बस्छ।

    कसरी प्रयोग गर्ने ?

    आफ्नो शरीरलाई मिल्ने आकारको कप छान्नुहोस्। तपाईँको शरीरबाट कति रक्तस्राव हुन्छ भन्नेसँग यसको सम्बन्ध छैन। तर कप प्रयोग गर्नुअघि त्यो सफा र सुख्खा हुनुपर्छ।

    कपलाई दोबार्नुस् र योनिभित्र राख्नुस्। त्यसपछि त्यो आफैँ खुल्छ र रगत नचुहिने गरी सिल गरेर बस्छ। सिल हटाउनका लागि चाहिँ कपको तलको भाग हल्लाउनुपर्छ र तान्नुपर्छ।

    कपमा जम्मा भएको फोहोरलाई शौचालयमा फाल्नुस् र राम्रोसँग पखालेर पुछ्नुस्। प्रत्येक महिनावारीका बेला कपको किटाणु मर्ने गरी त्यसलाई सफा गर्नुस्।

    के मेन्सट्रुअल कप ट्याम्पून वा स्यानीटरी प्याड भन्दा सस्तो हुन्छ ?

    न्याशनल हेल्थ साइन्सका अनुसार १२ देखि ५२ वर्ष उमेर समूहका महिलाहरूको जम्मा ४८० पटक महिनावारी हुन्छ।

    एउटा कपको १५ पाउण्डदेखि २५ पाउण्डसम्म पर्छ जुन ट्याम्पूनको एउटा प्याकेट भन्दा धेरै महङ्गो हो। तर यो प्रत्येक महिना पुन: प्रयोग गर्न सकिन्छ र १० वर्षसम्म पुग्छ। त्यसैले लामो समयलाई हेर्ने हो भने आर्थिक रुपमा यो निकै प्रभावकारी हुन्छ।

    फाल्ने भन्दा पुन: प्रयोग गर्ने भएकाले पनि मेन्स्ट्रुअल कपलाई ट्याम्पुन वा स्यानीटरी प्याड भन्दा पर्यावरणीय दृष्टिकोणबाट पनि राम्रो विकल्पको रुपमा हेरिएको छ। महिनावारीका बेला धुन मिल्ने र पुन: प्रयोग गर्न मिल्ने कट्टु पनि उपलब्ध छ।

    विश्वव्यापिरुपमा मेन्सट्रुअल कप उपलब्ध गराउन सके त्यसले महिनावारीसँग सम्बन्धित सङ्क्रमण लगायतका स्वास्थ्य समस्या र गरिबीसँग जुध्न पनि सघाउ पुग्ने अनुसन्धानकर्ताहरू विश्वास गर्छन्।

    प्रकाशित मिति :कार्तिक ५ २०७८ शुक्रवार - १२:२१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij