२०८२ मंसिर १० गते बुधवार
काठमाडौँ । राष्ट्रियसभाको बैठक पहिले झैँ सोमबार पनि प्रमुख प्रतपिक्ष दल नेकपा (एमाले)ले अवोध कायमै राखेको छ । बैठक प्रारम्भ हुने बित्तिकै एमालेका सांसदले उभिएर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा (एमाले)का मुख्य सचेतक खिमलाल भट्टराईलाई आफ्नो भनाइ राख्न समय दिए ।
मुख्य सचेतक भट्टराईले वर्तमान सरकारका गठबन्धनमा सहभागी दलले अघिल्लो सरकारविरुद्ध गैरराजनीतिक र कुर्सीमोहका कारण मुद्दा दायर गरेको जनाउँदै त्यसको औचित्य अहिले आएर पुष्टि भएको दाबी गरे ।
उनले भने्, "विगतको सरकारविरुद्ध गठबन्धनले अदालतमा मुद्दा हाल्दा जनमानसमा संविधानको रक्षाकै लागि हो कि भन्ने भान भए तापनि अहिले आएर प्रष्ट भएको छ ।” उनले एमालेलाई कमजोर बनाउने तथा विभाजनकै निम्ति दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाउँदै त्यसो नगरेसम्म गठबन्धनको राजनीतिक उचाइ नबढ्ने निष्कर्षसहित यस्तो काम गरिएको दाबी गरे ।
उनले वर्तमान सरकारले आयस्रोत नखोज्ने गरी कालो धनलाई सेतो बनाउने दिशातर्फ लागेकोसमेत आरोप लगाए । मुख्य सचेतक भट्टराईले केही समय अगाडि दार्चुलाका जयसिंह धामीको मृत्युका विषयमा सरकार मौन रहनुको कारणबारे प्रश्न उठाएका थिए ।
उनले गृहमन्त्री बालकृष्ण खाँडको गृहजिल्ला रुपन्देहीमा आइतबार सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको घटनाको भत्र्सना गरे । भट्टराईले उक्त घटनाको निष्पक्ष छानबिन, घाइतेको निशुल्क उपचारको व्यवस्था र मृतक परिवारलाई क्षतिपूर्तिको माग गरे । उनले केपी शर्मा ओली नेतृत्वको सरकारले बनाएको भूमिसम्बन्धी आयोगले भूमिहीनलाई लालपूर्जा वितरण गर्न लागेको समयमा आयोग खारेज गरी सुकुम्बासी बस्तीमा बर्बर दमन गरेर गम्भीर गल्ती गरेको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij