२०८२ मंसिर १० गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत १३ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । २१ हिमाली जिल्लामा दसैँअघि नै अधिवेशन सम्पन्न गर्ने घोषणा गरेर निर्वाचन समितिले त्यसअनुरूप कार्यतालिका बनाए पनि आठ जिल्लामा भने अधिवेशन भएको छैन ।
१३ मध्ये दुई निर्वाचन क्षेत्र भएको एउटा मात्र जिल्ला गोरखामा अधिवेशन सम्पन्न भएको छ । बाँकी भने एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला हुन् । १३ जिल्लामा अधिवेशन सम्पन्न हुँदा ६ जना संस्थापन पक्षका सभापति निर्वाचित भएका छन् । ६ जना संस्थापनइतर पक्षका छन् । रुकुम पूर्वका सभापति केशरमान रोकालाई भने दुवै पक्षले आफ्नो दाबी गरिरहेका छन् ।
बाजुरा, बझाङ, हुम्ला, कालिकोट मुगु, रुकुम पूर्व, मुस्ताङ, मनाङ गोरखा, दोलखा, रामेछाप, संखुवासभा र ताप्लेजुङमा जिल्ला अधिवेशन सम्पन्न भएको छन् । त्यसमध्ये बझाङमा खडक बोहरा, हुम्लामा मोहनविक्रम सिंह, मुगुमा ऐनबहादुर शाही, मनाङमा शंकर गुरुङ, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम) र ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ संस्थापन पक्षका छन् । त्यस्तै, बाजुरामा रामसिंह रावल, कालिकोटमा अम्बरबहादुर शाही, मुस्ताङमा रोमी गौचन, गोरखामा नदप्रसाद न्यौपाने, दोलखा बर्मा लामा र संखुवासभामा संस्थापनइतर पक्षका दीपक खड्का सभापति निर्वाचित भएका हुन् ।
महाधिवेशन सम्पन्न भएका जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिका विषयमा भने दुवै पक्षले आ–आफ्नै दाबी प्रस्तुत गर्दै आएका छन् । संस्थापन पक्षले १९६ जना महाधिवेशन प्रतिनिधि आफूले जितेको दाबी गर्दै पौडेल–कोइराला पक्षले जम्मा १२१ महाधिवेशन प्रतिनिधि मात्र जितेको तथ्यांक तयार पारेको छ ।
तर, संस्थापनइतर पक्षको भने फरक तथ्यांक छ । संस्थापनइतर पक्षले प्रत्येक जिल्लाका महाधिवेशन प्रतिनिधिहरूको नामावलीसहित सूची तयार पार्दै तथ्यांक राखेको छ । तथ्यांकानुसार हुम्ला र दोलखामा २६/२६ प्रतिनिधिसहित १३ जिल्लाका १४ निर्वाचन क्षेत्रबाट ३५२ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । उसले तयार पारेको तथ्यांकमा संस्थापनइतर पक्षमा २०५ महाधिवेशन प्रतिनिधि निर्वाचित भएको र संस्थापन पक्षमा १३६ महाधिवेशन प्रतिनिधि निर्वाचित भएको जनाइएको छ । अरू पाँचजना महाधिवेशन प्रतिनिधि मात्र कतै पनि नखुलेको उसको तथ्यांक छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य रुकुम पूर्वलाई संस्थापन पक्षको दाबीअनुसार २५ मा २५ छोडिदिँदा समेत संस्थापनइतर पक्ष प्रारम्भिक रूपमै बहुमतमा देखिएको बताउँछन् । कांग्रेस महाधिवेशनको तथ्यांक केलाइरहेका आचार्य बहुमत देखाउनका लागि संस्थापन पक्षले ‘फेक’ तथ्यांक सार्वजनिक गरेर माहोल बनाउने प्रयत्न गरिरहेको बताउँछन् ।
“अधिवेशन सम्पन्न भएका जिल्लामा हाम्रो टिमले पालिका तहदेखिकै तथ्यांक राखेर त्यसको विश्लेषण गरिरहेको छ, हाम्रो अध्ययनले संस्थापन पक्षले केही समयअघि अनौपचारिक रूपमा सार्वजनिक गरेको तथ्यांक नै ‘मिथ्यांक’ देखाएको छ,” आचार्यले भने, “५५० पालिकाको अधिवेशन सम्पन्न भएकै छैन, संस्थापनले ६०० भन्दा बढी पालिकाको तथ्यांक सार्वजनिक गरिसकेको छ ।” आचार्यले ‘मेनस्ट्रिम मिडिया’ले समेत तिनै मिथ्यांकका आधारमा समाचार बनाएको दावी गरे ।
अहिले १३ जिल्लाका १४ निर्वाचन क्षेत्रमा पनि संस्थापनले त्यस्तै मिथ्यांक बनाएर सार्वजनिक गरेको उनको दाबी छ । “हाम्रीले संकलन गरेको तथ्यांक त अहिले नै सार्वजनिक गर्दैनौँ, तर म तपाईंलाई भन्दिन्छु, जिल्ला सभापति जितेको रामेछापमा सभापतिसहित संस्थापनको जम्मा तीनजना मात्रै महाधिवेशन प्रतिनिधि छन्,” आचार्यले भने, “अन्य जिल्लामा पनि अवस्था त्यस्तै छ । त्यसैले तपाईं मिडियाहरू फेक तथ्यांकको सिकार नबन्नुस् । यो मेरो तपाईंहरूलाई सुझाव छ ।”
अहिले १३ जिल्लाका १४ निर्वाचन क्षेत्रका प्रतिनिधिमा संस्थापन पक्ष ५० भन्दा बढी मतले पछि रहेको उनको भनाइ छ । “यसबाहेकका तथ्यांक हामी अध्ययन परिपक्व भएपछि सार्वजनिक गर्छौँ,” आचार्यले भने ।
कांग्रेस संस्थापन पक्षका नेता मीन विश्वकर्मा वडा, पालिका र जिल्ला अधिवेशनमा फरक–फरक ‘प्याटर्न’ देखिएको भन्दै महाधिवेशन प्रतिनिधिमा भने संस्थापन पक्ष केही मतले मात्र बहुमतमा हुन सक्ने बताउँछन् ।
“वडामा एउटा प्याटर्न देखिएको छ, जुन पालिका अधिवेशनसम्म पुग्दा कायम छैन,” विश्वकर्माले भने, “जिल्ला सभापतिमा त एउटा पक्षले सभापति दाबी गरेको छ, अर्को पक्षको समर्थन लिएर सर्वसम्मत भएँ भनेर स्वयम् सभापतिले भनिरहेको अवस्था छ ।”
उनले वरिठ नेता रामचन्द्र पौडेलनिकट भनिएकाहरूले समेत सभापति शेरबहादुर देउवाको सहयोगमा आफू निर्वाचित भएको बताउने गरेको जिकिर गरे । विगतमा देखिने पक्षका आधारमा मात्र संस्थापनइतरले दाबी गरिरहेको उनले उल्लेख गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij