२०८२ मंसिर १० गते बुधवार
रुपन्देही । उद्धार गरी काठमाडौंमा उपचारका लागि ल्याइएकाहरुमा नेपाल प्रहरीका जवानहरु जयकुमार थारु र गेहराजपुन मगर छन् भने सशस्त्र प्रहरीका साहयक हवल्दार खुशीराम चौधरी र हवल्दार तिलक धामी छन् ।
आइतबार मोतीपुरमा प्रहरी र औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरी बस्नेहरु बीच झडप हुँदा ४ जनाको मृत्यु हुनुका साथै ४९ सुरक्षाकर्मी र १६ सर्वसाधारण घाइते भएका थिए । झडपपछि मोतीपुर क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि प्रशासनले कर्फ्यू लगाएको छ ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले झडपमा गम्भीर घाइते नेपाल प्रहरीका २ जना र सशस्त्रका प्रहरीका २ जना गरी ४ थप उपचारका लागि काठमाडौँ लगिएको जानकारी दिए ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई काठमाडौँ पठाइएको छ । मोतिपुरमा जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच भएको झडपमा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५६ जना सुरक्षाकर्मी घाइते भएको रुपन्देहीका प्रहरी प्रवक्ता मनोज केसीले बताए । प्रहरी प्रमुख केसीका अनुसार आइतबारको झडपमा नेपाल प्रहरीका ३३ जना घाइते भएका थिए ।
घाइतेमध्ये २ जनालाई काठमाडौँ पठाइएको र ७ जना भैरहवा मेडिकल कलेजमा उपचाररत रहेको उनले बताए । घाइते भएका अन्य प्रहरी भने उपचारपछि डिस्चार्ज भएको प्रहरी प्रमुख केसीले बताए ।
यस्तै सशस्त्र प्रहरीका प्रवक्ता निराकरनाथ शुक्लाले आइतबारको झडपमा २३ जना सशस्त्र प्रहरी घाइते भएको बताए । घाइतेमध्ये काठमाडौं रिफर गरिएका २ जना बाहेक अरु सबै उपचार पछि डिस्चार्ज भएको शुक्लाले बताए ।
अहिले मोतिपुर क्षेत्रको अवस्था सामान्य रहेको प्रहरी प्रमुख केसीले बताए । अवस्था सामान्य भए पनि सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij