२०८२ मंसिर ११ गते बिहिवार
तीन दिनअघि मात्र उद्योगमन्त्रीमा नियुक्त गजेन्द्र हमालले आज पदबाट राजीनामा दिएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भन्दै व्यापक आलोचना भएपछि हमालले विवादमा नफस्ने भन्दै पदबाट राजीनामा दिएका हुन्।
केही बेरअघि मात्र उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्। देउवाले उनको राजीनामा स्वीकृत गरिसकेका छन्।
सञ्चारमाध्याममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि आफूले पदबाट राजीनामा दिएको हमालले बताएका छन्।
‘सम्माननीय प्रधानमन्त्रीज्यू! म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापतिसमेत भएर काम गरेकाले पार्टीले सोहीअनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामा पत्रमा भनेका छन्, ‘हाल विभिन्न सञ्चाचारमाध्ययमहरुमा सम्प्रेषित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौँसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरुबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्ययन भएको बोध भएको छ। तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु।’
कांग्रेस नेताहरूका अनुसार हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन्। उनी २०२७ सालदेखि कांग्रेसका विभिन्न पदमा बसेर काम गरिसकेका नेता हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij