२०८२ मंसिर १२ गते शुक्रवार
बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कात्तिकमा हुने बार्षिक साधारणसभाले अध्यक्षसहित ६ जना सदस्यहरुको निर्वाचन गर्ने भएको छ।
संघले कात्तिक अन्तिममा साधारणसभा गर्ने टुङ्गो गरेको छ। अध्यक्ष भुवन दहालको २ बर्षे कार्यकाल पुरा हुँदैछ। त्यसैले आगामी साधारणसभाले नयाँ अध्यक्ष छान्ने छ।
संघका बहालवाला उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने चलन चार बर्षयता चल्न थालेको छ। अहिले उपाध्यक्ष कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय छन्। उनलाई नै स्वत अध्यक्ष बनाउनु पर्छ भन्ने एकथरी छन्।
तर सरकारी बैंकले समग्र बैंकहरुको प्रतिनिधित्व गर्न नसक्ने भएकाले निजी क्षेत्रबाटै अध्यक्ष बनाउनु पर्छ भन्ने मत पनि अगाडि आएको छ। यसअघि भारती लगानीको नेपाल एसबीआइ बैकका प्रमुख कार्यकारी उपाध्यक्ष हुँदा उनले समग्र नेपाली बैंकको प्रतिनिधित्व गर्न नसक्ने भन्दै कार्यसमितिमा नभएका दहाललाई अध्यक्ष बनाइएको थियो।
संघको सदस्यका रुपमा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको दुई बर्षका दरले दुई कार्यकाल पुरा भइसकेको छ। एउटै पदमा दुई कार्यकालभन्दा बढि बस्न नपाउने ब्यवस्थाका कारण यसमा निर्वाचन हुने छ।
यसबाहेक सनराइज बैंकको प्रमुख कार्यकारीबाट बाहिरिएपछि जनक शर्मा पौडेलको सदस्य पद रिक्त छ। यो पदमा पनि निर्वाचन हुने छ।
नेपाल बैंकका कृष्णबहादुर अधिकारी, मेगा बैंककी अनुपमा खुँजेली र एनएमबि बैंकका सुनिल केसीको एक कार्यकाल पुरा भएको छ। उनीहरुले अर्को एक कार्यकाल दोहोर्याउन सक्छन्। त्यसो हुँदा पनि यो पदमा निर्वाचन हुने छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij