२०८२ भाद्र २ गते सोमवार
म्याग्दी — अवैध उत्खनन् रोक्न गएका सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
बेनी नगरपालिका, १ का कृष्ण बोगटी, सुराकी डोलेन्द्र खत्री र एक्स्काभेटर चालक श्यामबाबु चौधरीलाई पक्राउ गरी जिल्ला अदालतबाट अभद्र व्यवहारमा ७ दिनको म्यादथप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘कालीगण्डकी नदीबाट अवैध उत्खनन् र तस्करी भइरहेको सूचनाका आधारमा घटनास्थल पुग्दा एक्स्काभेटरको बत्तीसमेत नबाली उत्खनन् भइरहेको भेटियो । सुरक्षाकर्मीको पहिलो टोलीमाथि नाइके र चालकले अपशब्द बोले र आक्रमण प्रयास गरे । दोस्रो टोली पुगेपछि उनीहरूलाई नियन्त्रणमा लिन सकियो,’ जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामकुमार राईले भने, ‘नदीजन्य पदार्थको अवैध उत्खनन् र तस्करीमा संलग्न व्यक्ति र एक्स्काभेटर एक महिनाअघि सोही स्थानबाट नदीजन्य पदार्थको व्यापक अवैध उत्खनन् र तस्करीमा संलग्नभै कारबाही भोगेका थिए ।’
जिल्ला अनुगमनतथा समन्वय समितिले असार, साउन र भदौ तीन महिना नदी तथा खोलाबाट कुनै पनि उपकरण प्रयोग गरेर उत्खनन् गर्न रोक लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको ढुङ्गा, गिटी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–०७७ ले जिल्ला समन्वय प्रमुखको अध्यक्षतामा, प्रजिअ, जिल्ला प्रहरी, सशस्त्र, अनुसन्धान विभाग, कोष तथा लेखा नियन्त्रण कार्यालय, घरेलु विकास समितिसमेत रहने जिल्ला अनुगमन तथा समन्वय समिति रहने व्यवस्था गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij