२०८२ भाद्र २ गते सोमवार
काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाउने निर्णयसँग स्थानीय तहहरू भौतिक उपस्थितिमा विद्यालय सञ्चालनका लागि छलफलमा जुटेका छन् । कतिपय स्थानीय तहले भौतिक उपस्थितिमा विद्यालय सञ्चालनसमेत सुरु गरेका छन् ।
गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि विद्यालय सञ्चालन गर्दा दक्षिणकाली नगरपालिकाको कालिका आधारभूत विद्यालयसमेत भौतिक रूपमै सञ्चालनमा आइसकेको छ । शनिबारसम्मको कोरोना संक्रमणको वृद्धिदर हेरेर विद्यालय सञ्चालन गर्ने निर्णय गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । बुधबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जिल्ला कोभिड–१९ व्यवस्थापनसँगको समन्वयमा विद्यालय खोलाउन सकिने निर्णय गरेसँगै उपत्यकाका स्थानीय तहहरू विद्यालय खुलाउन छलफलमा जुटेका हुन् । विद्यालय खुलाउन सबै स्थानीय तह सकारात्मक देखिएका छन् ।
काठमाडौं महानगरले शनिबारसम्मको वृद्धिदर हेरेर निर्णय लिने
काठमाडौं महानगरपालिकाले शनिबारसम्म कोरोना संक्रमितको संख्या घट्ने क्रममा रहेमा विद्यालय खोल्ने भएको छ । महानगरपालिकाअन्तर्गत शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीका अनुसार विद्यालय खुलाउन दिनुपर्ने माग सबैतिरबाट आइरहेकाले कोरोनाको ट्रेन्ड घट्ने क्रममा रहेमा महानगर विद्यालय खुलाउन तयार रहेको बताए । तर, हालसम्म कुनै पनि निर्णय हुन नसकेको उनको भनाइ छ । ‘केही दिनदेखि कोरोनाको ट्रेन्ड घट्दो क्रममा छ । बुधबारबाट प्रशासनले पनि सबै खुला गरिदियो । त्यसैले चारैतिरबाट विद्यालय खोल्नुपर्यो भनेर दबाब आउन थालेको छ,’ सुवेदीले भने, ‘अब शनिबारसम्मको अवस्था कस्तो रहन्छ हेर्छौँ । घट्दो क्रममा गयो भने विद्यालय खोल्छौँ ।’
ललितपुर महानगर सकारात्मक
ललितपुर महानरपालिका पनि भौतिक उपस्थितिमा विद्यालय सञ्चालनका लागि माग आएमा नगर शिक्षा समितिको बैठक बसेर अनुमति दिने तयारीमा छ । तर, अहिलेसम्म विद्यालयहरूकै माग नआएकाले विद्यालय खोल्ने वा के गर्ने भन्नेबारेमा कुनै पनि निर्णय हुन नसकेको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । ‘स्कुलहरूले नै विद्यालय खोल्नुपर्यो भनेर खासै माग गरेका छैनन् । त्यसैले हामीले अहिलेसम्म कुनै पनि निर्णय गरेका छैनौँ,’ प्रवक्ता महर्जनले भने, ‘विद्यालय सञ्चालनको माग आयो भने सम्बन्धित वडाध्यक्षको समन्वयमा खुलाउन अनुमति दिने तयारीमा छौँ ।’ वडाध्यक्ष नै सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका छन् ।
भक्तपुरमा चरणबद्ध रूपमा विद्यालय खुलाउने
भक्तपुर नगरपालिकाले विद्यालय सञ्चालनका लागि बुधबारदेखि नै छलफल चलाएको छ । नगरपालिकाले बुधबार संस्थागत विद्यालय र बिहीबार सामुदायिक विद्यालयका प्रतिनिधिसँग छलफल गरेको छ । दुई दिनको छलफलपछि चरणबद्ध रूपमा विद्यालय खुलाउने भन्ने विषयमा कुरा उठे पनि अझै पनि निष्कर्षमा नपुगेको नगरपालिकाका सूचना अधिकारी जौवन कोजुले बताए । सोमबारसम्म नगर समितिको बैठक बसेर निर्णय गर्ने उनको भनाइ छ । ‘विद्यालय खोल्नेबारे नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयका प्रतिनिधिहरूसँग छलफल गरेको छ । तर, अहिलेसम्म कुनै पनि निर्णयमा पुग्न सकेका छैनौँ,’ कोजुले भने, ‘विद्यालय खुलाए पनि एकैपटक खुलाउने पक्षमा छैनौँ ।’
संक्रमण दर घटे सबै विद्यालय खुलाउने
दक्षिणकाली नगरपालिकास्थित कालिदेवी आधारभूत विद्यालय भौतिक रूपमै सञ्चालनमा आइसकेको छ । कोरोनाको दर घट्दै गएमा अन्य विद्यालय पनि सञ्चालन गर्ने मेयर मोहनबहादुर बस्नेतले बताए । ‘हाम्रो नगरमा एउटा आधारभूत विद्यालय भौतिक रूपमै सञ्चालनमा आइसकेको छ । कोरोनाको दर घट्दै गएमा विद्यालय खोल्नुपर्छ भन्ने नै छ,’ बस्नेतले भने । उनका अनुसार केही दिनमा नगर शिक्षा समितिको बैठक बसेर अनलाइन कक्षालाई भौतिक रूपमै सञ्चालन गर्नुस् भन्नुपर्ने अवस्था आउन लागेको बताए ।
चन्द्रागिरि नगरपालिकाले पनि विद्यालय खुलाउन तयारी थालेको बताएको छ । नगरपालिका प्रवक्ता हरिभक्त महर्जनका अनुसार विद्यालय सञ्चालनका लागि सरोकारवाला निकायसँग छलफल सुरु भएको छ । कोरोनाका कारण गत वैशाखदेखि भएको निषेधाज्ञाका कारण उपत्यकाकोे सबै विद्यालय बन्द छन् ।
यसरी जोगाउन सकिन्छ विद्यालयमा बालबालिकालाई
- अहिले विद्यालय खोल्दा जोखिम छ । त्यसैले जोखिमका आधारमा विद्यालयले व्यवस्थापनमा तयारी गर्नुपर्छ ।
- विद्यालयमा बालबालिका एकले अर्कोलाई कोभिड संक्रमण सार्ने सम्भावना धेरै हुन्छ । कसैलाई कोभिडको लक्षण छ÷छैन हेर्नुपर्छ । कसैलाई कोभिड पजिटिभ देखिएमा कक्षा र विद्यालय बन्द गर्नुपर्छ ।
- कक्षाकोठामा पढ्दा मास्क ठीकसँग लगाएको छ कि छैन, दूरी कायम छ–छैन हेरेर व्यवस्थापन गर्नुपर्छ ।
- कक्षा चिच्याएर पढ्ने र पढाउने शैली परिवर्तन गर्नुपर्छ । यदि कसैलाई कोभिड छ भने चिच्याउँदा सर्ने जोखिम बढी हुन्छ ।
- सबै चिच्याएर पढ्ने पढाउनेभन्दा लेखेर, सामग्री देखाएर क्रियाकलाप गर्नुपर्छ ।
- कक्षाकोठामा हावा फैलिने गरी व्यवस्थापन गर्नुपर्छ
- कोभिडको समयमा कुन विद्यालयले कोरोना फैलिन नदिई नियमित कक्षा सञ्चालन गर्यो भन्ने रेकर्ड राखेर आगामी दिनमा त्यस मोडेललाई अनुशरण गर्नुपर्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij