२०८२ भाद्र १ गते आइतवार
रोजगारीमा इजरायल जान चाहने आवेदनकहरूको लिखित परीक्षा आगामी भदौ २८ गते हुने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभागले साउन १२ गते गोरखापत्रमा प्रकाशित गरेको विज्ञापन बमोजिम आवेदन दरखास्त स्वीकृत भएका उमेद्वारहरूको छनौटको लागि अंग्रेजी भाषाको लिखित परीक्षा भदौ २८ गते हुने भएको हो ।
लिखित परीक्षा काठमाडौंको विभिन्न परीक्षा केन्द्रमा भदौ २८ गते सोमबार दिनको ठीक १ बजेदेखि सञ्चालन हुनेछ । परीक्षा अवधि २ घण्टाको हुने विभागका शाखा अधिकृत मात्रिका सापकोटाले जानकारी दिए ।
विभागकाअनुसार इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको अङ्ग्रेजी भाषाको लिखित परीक्षा भौतिक उपस्थितिमै हुनेछ ।
परीक्षार्थीहरूले परीक्षाको लागि तोकिएको समयभन्दा ३ घण्टाअगावै परीक्षा केन्द्रमा पुग्नु पर्नेछ । विभागले कोरोना महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षामा सहभागी हुन आग्रह गरेको छ ।
परीक्षामा सहभागी हुन यसअघि अनलाइन आवेदन दिएर दरखास्त स्वीकृत भएको हुनुपर्नेछ । दरखास्त स्वीकृत भएरनभएको जानकारी आवेदनकर्ताले अनलाइनमै लगइन गरेर हेर्न सक्छन् ।
परीक्षामा सहभागीताका लागि अनलाइनबाटै प्रवेशपत्र पाइने र परीक्षा केन्द्रको जानकारी सोही प्रवेश पत्रमा हुने विभागले जानकारी दिएको छ । परीक्षा केन्द्रको विवरण विभागको वेबसाइटमा हेर्न सकिने जनाइएको छ ।
सरकारले इजरायल रोजगारीको लागि साउन १२ देखि ३२ गतेसम्म अनलाइन आवेदन आह्वान गरेको थियो । त्यस क्रममा ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए ।
यसअघि विभागले जारी गरेको विज्ञप्तिमा इजरायलमा नेपाली नागरिकहरूलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने जनाएको थियो ।
कानुनविपरीतका कार्य एवं गतिविधिहरूमा संलग्न नहुन तथा कुनै प्रलोभनमा नपरी पूर्णरूपमा विभागबाट सम्प्रेषित सूचनामा आधारित हुन विभागको अनुरोध छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij