Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

खोप लगाउन लाइन बसेका कैदीको मृत्यु

खोप लगाउन लाइन बसेका कैदीको मृत्यु


  • 4.0K
    Shares

    खोप लगाउन लाइन बसेका कैदीको मृत्यु

    विराटनगर  : कोरोना भाइरसविरुद्धको खोप लगाउन लाइन बसेका जिल्ला कारागार मोरङका एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भइ कैद सजाय भुक्तान गरिरहेका मोरङको रतुवामाई नगरपालिका–५ का ५२ वर्षीय धनबहादुर गुरुङको मृत्यु भएको हो ।

    मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार गुरुङ कोरोनाविरुद्धको खोप लगाउन मंगलबार कारागारका अरु कैदीबन्दीसँगै लाइनमा बसेका थिए ।  लाइनमा बसिरहेका बेला अचानक बेहोस भएर ढलेका उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको श्रेष्ठले बताए । उनका अनुसार गुरुङलाई घाँटीसम्बन्धी क्यान्सरको समस्या थियो । 

    करणी मुद्दामा अदालतले १० वर्ष कैद सजायएको फैसला गरेपछि उनी २०७४ वैशाख ५ गतेदेखि विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गरिरहेका कैदी हुन् ।  गुरुङको शव परिवारको जिम्मा लगाएर पठाइएको कारागार प्रशासनले जनाएको छ । निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार मंगलबार ७ सय १५ पुरुष र १७ महिला गरेर कारागारभित्रका ७ सय ३२ कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप दिइएको छ । 

    कारागारमा रहेका अर्का एक कैदीको पनि सोमबार मृत्यु भएको थियो । लागुऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका सुनसरीको धरानका ३० वर्षीय सुवास लिम्बूको उपचारकै क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो ।श्वासप्रश्वासमा समस्या भएको भन्दै उनलाई उपचारका लागि लगिएको थियो । 

    दिनहुँ कैदीको मृत्यु हुन थालेपछि कारागारको व्यवस्थापन र त्यहाँभित्रको सुरक्षा अवस्थाका बारेमा प्रश्न खडा भएको छ । चौकीदार र नाइकेले गर्ने कुटपिट एवं दिने चरम यातनाका कारण कारागारभित्र असुरक्षा बढिरहेको गुनासो कैदीबन्दीका आफन्तले गरेका छन् ।

    बारम्बार सहनै नसक्ने गरी यातना दिँदा पनि कारागार प्रशासन मौन बस्नु र जिल्ला प्रशासन कार्यालयले समेत चासो नराख्नु रहस्यमय भएको मृतकका आफन्तले बताए ।  'कुटपिट र यातना तथा त्यहाँभित्र भइरहेको मृत्युका बारेमा पटक–पटक जिल्ला प्रशासन र कारागार प्रशासनको ध्यानआकर्षण गराइएको छ,'उनले भने, ‘तर यातनाकै कारण धमाधम कैदीबन्दीको मृत्यु भइरहे पनि नियन्त्रणका लागि सरकारी निकायले चासो दिएका छैनन् '

    प्रशासनकै मिलेमतो एवं संरक्षणमा कारागारभित्र असुरक्षा बढ्दा परिवार पनि तनावमा बस्नु परिरहेको गुनासो उनको छ । निमित्त जेलर पोखरेलले भने कारागारभित्र यातना दिने र कुटपिट गर्ने गरिएको विषय आफूलाई जानकारी नभएको बताए । उनले भने, 'कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । उनीहरुमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या छ । नियमित उपचार पनि गराइरहेका छौँ । तर दुई दिनभित्रमा दुई कैदीको मृत्यु भएको छ ।'

    कारागार २ सय ५० जना क्षमताको हो । तर क्षमताभन्दा झण्डै ४ गुणाबढी कैदीबन्दी राखिएका छन् । कारागारमा बुधबार दिउँसोसम्ममा ७० जना महिलासहित ९ सय ३७ जना कैदीबन्दी रहेको जानकारी पोखरेलले दिए ।

    प्रकाशित मिति :भाद्र २ २०७८ बुधवार - १३:५१:५४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij