२०८२ भाद्र ५ गते बिहिवार
कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा विराटनगरस्थित ट्राइकोट इण्डस्ट्रिज प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय चाण्डोकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर– १३ मा रहेको तयारी पोशाक उत्पादन गर्ने सो उद्योगमा कार्यरत कर्मचारीलाई सीईओ चाण्डोकले पटक–पटक दर्व्यवहार गरेको भन्दै मजदुरहरू आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो । सीईओ चाण्डोक भारतीय नागरिक हुन् ।
करिब ३ सयको संख्यामा भेला भएका श्रमिकहरूले सीईओ चाण्डोकले महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गर्नुको साथै पुरूष श्रमिकहरूलाई कामबाट निकाल्ने धम्कि दिएको आरोप लगाएका थिए । इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश राउतसहित मोरङ प्रहरीको थप प्रहरी फोर्सले चाण्डोकलाई प्रहरीले पक्राउ गरेको हो।
नियन्त्रणमा लिएको सिइओलाई पक्राउ गरि अहिले जिल्ला प्रहरी कार्यालय ल्याएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । उनले यसबारे अनुसन्धान सुरू गरेको पनि बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij