२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय जलस्रोत नीति, २०७७ सार्वजनिक गरेको छ । मन्त्रिपरिषदको गत असार २९ गतेको बैठकबाट स्वीकृत भएको नीति मन्त्रालयले बिहीबार औपचारिक कार्यक्रम गरि सार्वजनिक गरेको हो ।
नीति सार्वजनिकीकरण कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले पानीको उपयोग, संरक्षण, नियमन र नियन्त्रणका लागि एकीकृत नीतिको आवस्यकता महसुस गरेर राष्ट्रिय जलस्रोत नीति आएको बताए । 'हामीसँग भएको प्राकृतिक स्रोतको अधिकतम तथा उचित प्रयोग, संवर्द्धन तथा बहुउपयोगी विकास र दिगो रुपमा उपयोग गर्नका लागि यो नीतिले दिशानिर्देश गर्नेछ । सँगसँगै भविष्यमा उत्पन्न हुनसक्ने समस्या न्यूनीकरणका लागि पनि यो नीतिले सहयोग पुर्याउनेछ,' मन्त्री पुनले भने ।
नीतिले जलस्रोतको बहुआयामिक, समन्यायिक एवं दिगो विकास तथा बहुउपयोगबाट आर्थिक समृद्धि र सामाजिक रुपान्तरणलाई दीर्घकालीन सोचका रुपमा राखेको छ ।
जल तथा ऊर्जा आयोगका सचिव सागर राईले यो नीतिले जलस्रोतको उपयोग, संरक्षण, नियमन र नियन्त्रण कसरी गर्ने भन्ने रणनीति लिएको बताए । 'उपलब्ध जलस्रोतलाई उपयोग गरेर आर्थिक समृद्धि हासिल गर्ने यो नीतिको मुख्य उद्देश्य हो । तर वातावरणीय, सामाजिक र साँस्कृतिक रुपमा असर नपर्ने गरि कसरी जलस्रोतको प्रयोग गर्ने भनेर यो नीतिमा समेटिएको छ,' सचिव राईले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij